पोखरा । कास्कीको पोखरा महानगरपालिका–१५ नयाँगाउस्थित सेती नदीको खोँचमा खसेका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ ।
पर्वतको फलेवास नगरपालिका वडा नं. ३ घर भई पोखरा १५ नयाँगाउमा दाजुको डेरामा आई बसेका वर्ष १९ को सुदीप विक शनिबार अन्दाजी ७:४५ बजे सेती नेदीको किनारमा धाँजा फाटेको स्थानमा अचानक खसेका थिए ।
सोसम्बन्धी सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय रामबजारबाट ७ जनाको प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट ६ जनाको रेस्क्यु टोली र सशस्त्र बल नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीबाट ११ जनाको उद्दार टोली खटिई गइ खोजीकार्य गरेको थियो ।
त्यस क्रममा ९:५५ बजे उनलाई खोँचमा अड्किएको अवस्थमा फेला पारी उद्धार गरिएको हो ।
उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएका उनको अवस्था सामान्य छ । शरीरमा सामान्य दधारिएको चोट लागेको प्रहरीले जनाएको छ ।