काठमाडौँ । सरकारले भूकम्पप्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेसन क्लस्टर (इटिसी) लाई सक्रिय बनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा २०८० कात्तिक १८ गते शनिबार बसेको बैठकले क्लस्टरलाई सक्रिय बनाउने निर्णय गरेको हो ।
बैठकले भूकम्पप्रभावित क्षेत्रमा टेलिफान तथा इन्टरनेट सेवा सञ्चालन गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सेवा प्रदायकले सेवालाई प्रभावकारी बनाउन सम्पर्क विन्दु र सम्पर्क व्यक्ति तोक्ने र निन्तर सम्पर्कमा रहने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले भूकम्प प्रभावित क्षेत्रबाट सत्य तथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिनुभयो ।
बैठकले केन्द्रीय र जिल्ला आपतकालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ ।
नेपाल टेलिकमका पदाधिकारीहरूले बैठकमा भूकम्पप्रभावित क्षेत्रमा आधारभूत दूरसञ्चार सेवा नि:शुल्क गरेको जानकारी दिनुभएको थियो ।
बैठकमा मन्त्री शर्मा, मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल पत्रकार महासङ्घलगायत दूरसञ्चार तथा आमसञ्चार क्षेत्रका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।