काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्पप्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।
मन्त्रालयले २०८० कात्तिक १८ गते सूचना जारी गर्दै बिदामा रहेका सम्बन्धित स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनु हुन र तत्काल बिदामा नरहन हुन निर्देशन दिएको हो ।
मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवम् घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षको व्यवस्थापन प्रत्यक्ष एवम् अप्रत्यक्ष सघाउ पुर्याउन अग्रसरता देखाई कार्यप्रवाह गर्न/गराउन प्रभावित जिल्लामा सबै स्थानीय निकाय तथा स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई अनुरोधसमेत गरेको छ ।
कात्तिक १७ गते शुक्रबार मध्यराति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाई आएको ६ दशमलव चार रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम र रुकुमपूर्व र सल्यानलगायतका जिल्लामा मानवीय र भौतिक क्षति भएको छ ।