काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबाट बुद्धको जन्मभूमि लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक रहेको बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा २०८० कात्तिक १७ गते बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो दाबी गर्नुभएको थियो ।
‘बुद्धका बारेमा कहीँ कतै दुराशययुक्त ढङ्गले प्रश्न उठाउन खोजिएका बेलामा महासचिव गुटेरेसले बुद्धको जन्मभूमिबाटै विश्वशान्तिको अपिल गर्नु गौरवको विषय हो’ प्रवक्ता सापकोटाले भन्नुभयो ।
मुलुकलाई पछाडि फर्काउन सकिन्छ कि भनेर केही शक्ति लागिपरेको सन्दर्भप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘इतिहासको चक्का पछाडि फर्कंदैन । यो अगाडि बढ्यो । परिवर्तनका पक्षधरले राष्ट्रिय दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।’
जलवायु परिवर्तनको असर र प्रभाव बढिरहेका सन्दर्भमा महासचिव गुटेरेस सगरमाथा क्षेत्रमा पुगेर त्यहाँका स्थानीयसँग अन्तक्र्रिया गर्नुभएको तथ्यलाई विश्वसमुदायले नजिकबाट नियालेको उहाँको भनाइ थियो ।