काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा रहेकै बेला उनको हस्ताक्षर किर्ते गरेरठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनाबाट अढाई करोडभन्दा बढी रुपैयाँ ठगी गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–५ लेखनाथ टोल स्थायी ठेगाना भएकी ३२ वर्षीया सुरुचि भुजेल पक्राउ परेकी हुन् ।
भुजेललाई जिल्ला अदालत काठमाडौँले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।
भूकम्पले क्षतिग्रस्त टर्कीका भवन पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघ (यूएन) मार्फत त्यहाँ लाने प्रलोभन देखाएर ९० जनाबाट २ करोड ५९ लाख ७९ हजार ५ सय रुपैयाँ ठगी गरिएको जाहेरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भुजेललाई पक्राउ गरेको थियो।
सो ठगी मुद्दामा प्रहरीले सुरुचिका पति विनोद श्रेष्ठ र भाइ सुजन भुजेललाई पनि प्रतिवादी बनाएको छ। हाल उनीहरू फरार छन्।