काठमाडौँ । आज २०८० कात्तिक ११ गते शनिबार पश्चिमी वायुका कारण पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले यस्तो सम्भावना व्यक्त गरेको हो ।
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । त्यसको प्रभावले गर्दा हाल देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
शनिबार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।