कुश्मा । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका छओटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ ।
बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठुलो नोक्सान पुर्याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छओटा घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको हो ।
खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय बिपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले गत भदौ २१ गते पहिरोस्थलमै पुगेर अध्ययन तथा अनुसन्धान गरेको थियो ।
विभागका भूगर्भविद अनिस खनाल, प्राविधिक विरास मल्ल र ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले हालै अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ती घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिनुभयो ।
पहिरोको चपेटामा परेका स्थानीय नगेन्द्र कार्की, पदम कार्की, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर कार्की र डेकबादुर कार्कीको घर सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने भएको आचार्यले जानकारी दिनुभयो ।
पहिरोस्थलको अध्ययनपछि भूगर्भविद्ले दिएको प्रतिवेदनको आधारमा पीडित परिवारलाई स्थानान्तरणका लागि आवश्यक जग्गा व्यवस्थापन र समन्वय तथा सहकार्यका लागि जिल्ला बिपत् व्यवस्थापन समिति र जलजला गाउँपालिकाले पहल गरिरहेको छ ।
आगामी वर्षा हुनुअगावै ती घर सुरक्षित स्थानमा सारिएन भने फेरि पहिरोले जोखिम निम्त्याउन सक्ने भएकाले पालिका र पीडितबिच समन्वय गरेर नयाँ ठाउँमा घर निर्माण गर्नका लागि पहल गरिएकोसमेत प्रजिअ आचार्यको भनाइ छ ।
कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका–६ ओटा घर विस्थापित हुनुका साथै झन्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आउने लेदोसहितको पहिरोले हालसम्म छओटा घरपरिवार समस्या परेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो ।
‘पानी पर्नासाथ पहिरो खस्ने समस्या छ । हामीले आगामी वर्षायामअघि नै उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकेनौँ भने फेरि ठुलो जोखिम आउन सक्छ । हामी त्यसतर्फ सचेत बनेर कार्ययोजनामा लागेका छौँ’ आचार्यले भन्नुभयो ।
वर्षायाममा ती पाँच परिवार स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिएर बसेका थिए । वर्षा सकिएसँगै उनीहरू घर फर्किएका छन् ।
कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झन्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरो पीडित पदम कार्कीले बताउनुभयो ।
पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको थियो । उक्त पहिरोकै कारण पूर्ण गाउँमा रहेको बराह ताल पूर्ण रूपमा बगर बनेको छ । त्यहाँ रहेका कार्की र घर्तीका दुईओटा मन्दिरमा क्षति पुगेको छ ।
त्यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागी जाने सडक पूर्ण रूपमा क्षति पु¥याएको थियो । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार यस वर्षको वर्षायाममा जिल्लाभर २७ ओटा घरमा क्षति पुगेका छ । (रासस)