किभ । युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा एक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीले बताएका छन् ।
युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा राख्नुभएको भिडियोमा भग्नावशेषले घेरिएको क्षतिग्रस्त गोदाम र युक्रेनको हुलाक अपरेटर नोभा पोश्ताको लोगासहितको एउटा कन्टेनर देखिन्छ ।
‘अतिक्रमणकारीको आक्रमणबाट सबै छ जनाको मृत्यु र १४ जना घाइते भएका छन् । उनीहरू सबै नोभा पोस्ता टर्मिनलभित्र थिए’ खार्किभ क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले भन्नुभयो– ‘मारिने र घाइतेको उमेर १९ देखि ४२ वर्षबिचका रहेका छन् । उनीहरूलाई छर्रा र विस्फोटबाट चोट लागेको थियो ।’
घाइतेको अस्पतालमा उपचार भइरहेको छ । गभर्नर सिनेगुबोभका अनुसार सात जनाको अवस्था गम्भीर छ ।
‘चिकित्सकहरू उनीहरूलाई बचाउन प्रयास गरिरहेका छन्’ उहाँले भन्नुभयो । (रासस/एएफपी)