ब्रासिलिया । अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आउँदा करिब दुई हजार वर्ष पुरानो हुन सक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ ।
अमेजनको सबैभन्दा ठुलो सहर मनाउसका लामो समयदेखिका निवासी लिभिया रिबेरोले साथीबाट चट्टानमा मानव आकृतिका बारेमा सुनेको र हेर्न चाहेको बताउनुभयो ।
‘मलाई यो झुट हो जस्तो लागेको छ । मैले यसलाई कहिल्यै पनि देखेकी थिइनँ । म मनाउसमा २७ वर्षदेखि बस्दै आएकी छु’ उक्त आकृति हेरेपछि प्रशासक रिबेरोले भन्नुभयो ।
चट्टानका आकृति सामान्यतया देखिँदैन किनकि तिनीहरू निग्रो नदीको पानीले भरिन्छ । यो नदीको प्रवाह गत साता एक सय २१ वर्षमा सबैभन्दा कम स्तरमा रेकर्ड गरिएको थियो ।
नदी किनारमा आकृतिसहितको सतहले वैज्ञानिक र सर्वसाधारणलाई खुसी प्रदान गरेको छ तर चिन्ता गर्ने प्रश्न पनि दिएको छ ।
‘हामी आउँछौँ, आकृति देख्छौँ र हामीलाई ती सुन्दर लाग्छन् तर यो चिन्ताजनक पनि छ । मलाई यो नदी ५० वा एक सय वर्षमा अस्तित्वमा रहन्छ र भन्ने लाग्छ’ रिबेरोले भन्नुभयो ।
ब्राजिलको अमेजनमा खडेरीका कारण हालैका सातामा नदीको जलस्तर अत्यन्त कम भएको छ, जसबाट यो क्षेत्र प्रभावित भएको छ । यो जल यातायात र आपूर्तिका लागि जलमार्गको सञ्जालमा निर्भर छ ।
ब्राजिल सरकारले उक्त क्षेत्रमा आपत्कालीन सहायता पठाएको छ । यहाँ सामान्यतया नदीका किनारा सुक्खा हुन्छन् र फँसेका डुङ्गाले भरिएका हुन्छन् ।
विज्ञका अनुसार यस वर्ष अल निनोका कारण प्रशान्त महासागरमा रहेको अनियमित जलवायु खराब भएको छ र यसबाट जलवायु परिवर्तनका असर बढेको छ । (रासस/एएफपी)





