काठमाडौँ । त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत आज २०८० कात्तिक ४ गते शनिबार भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।
काठमाडौँको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो ।
नेपालले यसअघि भएको पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो ।
नेपालले हङकङलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको थियो । जवाफमा हङकङले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ३४ रनमा मात्रै बनाउन सक्यो । हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए ।
त्यस्तै, बाबर हायात २० तथा एजाज खानले २५ रन जोडे ।
नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र प्रतिश जिसीले समान १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । कुशलले ४१ ब्लमा तीन चौका र नौ छक्काको सहयोगमा ९२ रन बनाए ।
त्यस्तै दीपेन्द्रले ३४ बलमा छ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए । कुशल मल्ल र दीपेन्द्रले एक सय ४५ रनको साझेदारी गरेका थिए ।
त्यसैगरी आशिफ शेखले २० रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ११ रन बनाए ।
हङकङका लागि मोहमद घजन्फरले दुई विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले समान एक–एक विकेट लिए । अब नेपालले यही कात्तिक ६ गते युएईसँग खेल्ने छ ।