काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएका व्यक्ति महिला हत्या आरोपमा पक्राउ परेका छन् । राष्ट्रपतिबाट २६ दिनअघि कैद मिनाहा पाएर जेलमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक महिला हत्या आरोपमा पक्राउ परेका हुन्।
मंगलबार साझ खलंगास्थित डेराबाटै लोकेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो। उनले भावनाको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।
मंगलबार बिहान मुसिकोट नगरपालिका– १ खलङ्गाको सत्कार होटलमा मृत फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुर पक्राउ परेका हुन्।
घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर होटलको कोठामा सिरकले छोपेको अवस्थामा भावनाको शव फेला परेको थियो।
घटना अनुसन्धानका क्रममा लोकबहादुर भावनाको हत्यामा संलग्न रहेको पाइएपछि ३३ वर्षीय विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए। मृतक महिलाका पति वैदेशिक रोजगारीमा छन्।
राष्ट्रपतिबाट आम माफी पाएर छुट्टुअघि लोकबहादुरले बहुविवाह मुद्धामा रुकुम कारागारमा कैद भुक्तान गरिरहेका थिए। उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते उनलाई एक वर्ष कैद सजाय सुनाएपछि २०७९ फागुन १४ गते उनी कैद परेका थिए।
२०८० माघ १९ गते कैदमुक्त हुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन भएको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले आम माफी दिएका थिए।