काठमाडौ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।
नेपाल राष्ट्र बैङ्कले २०८० असोज ३० गते मङ्गलबार सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा यस्तो स्थिति देखा परेको हो ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर दुई खर्ब २८ अर्ब ३७ करोड रुपियाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव आठ आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई एक अर्ब ७३ करोड अमेरिकी डलर पुगेको छ ।
गत भदौ मसान्तसम्ममा बैदेसिक रोजगारीका लागि श्रमस्वीकृति लिने नेपालीको सङ्ख्या २८ दशमलव तीन प्रतिशतले घटेर ७४ हजार चार सय ५५ रहेको छ ।
त्यसैगरी, बैदेसिक रोजगारीका लागि पुन: श्रमस्वीकृति लिने नेपालीको सङ्ख्या १८ दशमलव तीन प्रतिशतले घटेर ३२ हजार चार कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।
अघिल्लो वर्ष सोही अवधिमा यस्तो सङ्ख्या ७० दशमलव छ प्रतिशतले बढेको थियो ।