बागलुङबजार । जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडबाडलक्षित गरेर मर्मत थालेको हो ।
गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा श्रमदान जुटाएर नगरपालिकाले धमाधम काम गरिरहेको हो । सडक मर्मत र सरसफाइ गर्न सबै वडा कार्यालय सक्रिय छन् ।
जैमिनी मात्रै होइन जिल्लाका दसओटै स्थानीय तह दसैँअघि नै सडक सहज र सफा बनाउने काममा लागेका छन् ।
‘चाडपर्वमा गाउँ भरिभराउ हुन्छ, धेरै मानिसले यात्रा गर्ने समय हो । यस्तो बेला समस्या नहोस् भनेर सडक मर्मत गरिरहेका छौँ’ नगरपालिका श्रोतले भन्यो– ‘अब मर्मत गरेका सडक हिउँदभरि मर्मत गरिराख्नुपर्दैन । वर्षा रोकिएकाले सडकमा अवरोध नहोला भनेर सफाइको काम थालेका हौँ ।’
प्रत्येक वर्ष बाढिपहिराले सडकमा क्षति पुर्याउने भएकाले सडक मर्मत र सरसफाइलाई यहाँका स्थानीय तहले सधैँ प्राथमिकता राख्ने गरेका छन् । बागलुङ नगरपालिकाले यो वर्ष सडक सरसफाइ र मर्मतका लागि प्रत्येक वडालाई रु पाँच लाखका दरले बजेट नै विनियोजन गरेको थियो । सबै वडामा मर्मत र सरसफाइको काम सकिएको पालिकाले जनाएको छ ।
दसैँलक्षित मात्रै नभई बाढीपछि भत्केका संरचना पुन:निर्माणसमेत गरिरहेको स्थानीय तहले जनाएका छन् । आफ्नो अधिकार क्षेत्रभित्रका सडक संरचना मर्मत गर्ने र सङ्घ तथा प्रदेश सरकारको जिम्मेवारीमा रहेका सडक मर्मतका लागि ध्यानाकर्षण गराइरहेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।
मौसमले साथ दिए दसैँमा घर फर्कने पाहुनालाई सहज हुने गरी काम गरिरहेको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रका कृषि सडकलाई लक्षित गरेर वडा कार्यालयले बाटो मर्मत, सफा गर्ने कामसमेत गरिरहेका छन् । दसैँलाई लक्षित गरेर सडकका खाल्डाखुल्डी धमाधम पुरिएका छन् । सडकमा सानाठुला डोजर र लोडर चलिरहेका छन् ।
सडक मर्मत र सरसफाइ मात्रै होइन, स्थानीय तहले चाडपर्वका बेला यातायात क्षेत्रमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न सक्रिय भइरहेका छन् । जिल्ला प्रशासनसँग मिलेर यहाँका स्थानीय तहले बजार अनुगमनको कामलाई तीव्र बनाएको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा (तिलक) ले बताउनुभयो ।
स्थानीय तहले चाडबाडका बेला यातायात क्षेत्रमा हुने कालोबजारी रोकेर नियमानुसार मात्रै भाडा लिन सचेत गराइरहेका छन् । प्रहरी, प्रशासन र यातायात व्यवस्था कार्यालयलाई भाडाको अनुगमनका लागि ध्यानाकर्षण गराएको छ ।
स्थानीय तहले जस्तै जिल्लामा सञ्चालनमा रहेका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र अन्य सडक आयोजनाले पनि चाडबाडलक्षित सडक मर्मत थालेका छन् । निर्माणको काम चलिरहेका आयोजनामा सम्बन्धित निर्माण कम्पनी र निर्माण सम्पन्न भएर हस्तान्तरण भएका सडक सम्बन्धित कार्यालयलाई मर्मत तथा सरसफाइका लागि अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । (रासस)