काठमाडौँ । नेपालमा पश्चिमी वायुको प्रभाव रहिरहँदा हल्का वर्षा हुने सम्भावना देखिएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
आज असोज ३० गते मङ्गलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती प्रदेशलगायत देशका पहाडी भूभागका केही र तराईका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्राधानाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा भोलिसम्म रहने भएकाले मङ्गलबार र बुधबार किसानले धान नकाट्दा राम्रो हुने मौसमविद् प्राधानाङले बताउनुभयो ।
काठमाडौँमा अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ ।
मङ्गलबार काठमाडौँमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्टिग्रेडको बिचमा रहने सम्भवना रहेको र काठमाडौँमा अपराह्नतिर हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् प्राधानाङले जानकारी दिनुभयो ।
त्यसैगरी मङ्गलबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।