बेइजिङ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा अवस्थित एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्त्वविद्ले प्राचीन ढुङ्गाको ग्रिनेड फेला पारेका छन् ।
पुरातत्त्वविद्ले ग्रेटवालको छेउमा रहेको उक्त भवन हतियार भण्डारण गर्ने गोदाम रहेको विश्वास गरेका छन् ।
‘ग्रेटवालको छेउमा यस्तो हतियार भण्डारण गरेर राखिएको फेला परेको यो पहिलोपटक हो जसले हाम्रो यसअघिको धारणालाई बदलिदिएको छ’ नगरपालिका पुरातत्त्व संस्थाका अनुसन्धानकर्मी साङ हेङले भन्नुभयो ।
यसअघि पुरातत्त्वविद्ले चार सयओटा त्यस्तै किसिमका ढुङ्गे ग्रिनेड फेला पारेका थिए जुन प्राचीन ग्रिनेडको आदिम संस्करण थिए । मिङ वंश (सन् १३६८ देखि १६४४ सम्म) को समयमा ग्रेटवालको सुरक्षा गर्न ती हतियारलाई सामान्य हतियार मानिएको थियो ।
‘अविस्मरणीय देखिने यी ढुङ्गामा बारुद भर्नका लागि बिच भागमा गोलो प्वाल बनाइएको छ, बारुद भरेपछि त्यसलाई बन्द गरेर बाहिर फ्याँक्न सकिन्छ जसले शत्रुलाई मार मात्र हान्दैन, शत्रुलाई पराजित गर्न विस्फोट पनि गराउन सक्छ’ साङले भन्नुभयो ।
ग्रेटवालका टावरमाथि शत्रुलाई पराजित गर्न भाँडा, थाल, कचौरा, कैँची, बेल्चा जस्ता भाँडाकुँडासँगै अग्निकुण्ड र स्टोभ पनि राखिएका छन् जसले मिङ वंशमा सीमारक्षकको दैनिक जीवनलाई झल्काउँछ । उत्खनन्का क्रममा ढुङ्गाको किल्लासहित सीमासुरक्षाका लागि अन्य सामग्री पनि फेला परेका थिए ।
ग्रेटवालमा धेरै अन्तरसम्बन्धित पर्खाल छन् । कुनै त दुई हजार वर्षअघिका पनि छन् । अहिलेको ग्रेटवालको लम्बाई २१ हजार किलोमिटर रहेको छ ।
सन् २००० देखि २०२२ सम्ममा बेइजिङमा एक सय १० ओटाभन्दा बढी ग्रेटवाल संरक्षण परियोजना सम्पन्न भएका छन् । (रासस/सिन्ह्वा)