भद्रपुर । कोशी प्रदेशकै ठुलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौर्य ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको हो ।
चार वर्षअघि रु ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यालन जडान हुने छ ।
झिलभिले चोकबाट करिब ७ किलोमित्तर उत्तरमा २२ बिघा जमिनमा २२ हजार छ सय सोलार प्यानल जडान गरिने उहाँले जानकारी दिनुभयो । परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिनाअघि नै सकिएको छ, जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुने छ ।
‘यो नेपालकै ठुलो परियोजना हो । अब दुई महिनाभित्रमा सञ्चालन गर्ने तयारी छ’ निर्देशक भट्टराईले भन्नुभयो– ‘अब धमाधम प्यानल जडान गर्ने काम मात्र हो । चाँडै सक्छौँ ।’
सो परियोजना निर्माणका लागि माछापुछ्रे बैङ्कले रु ३५ करोड र सिभिल बैङ्कले रु २५ करोड गरी रु ६० करोड बैङ्किङ कर्जा लिइएको उक्त परियोजनामा रु २० करोड सेयरदाताबाट लगानी गरिएको उहाँको भनाइ छ ।
उहाँले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भरपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताउनुभयो ।
बिर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताउनुभयो ।
उहाँले परियोजनालाई सोलार टुरिज्मको रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उहाँले बताउनुभयो । सोलार टुरिज्मसँगै नजिकै एग्रोटुरिजमको अवधारणा बनाइएको उहाँको भनाइ छ ।
झापा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उहाँको भनाइ छ । उहाँले नेपाल विद्युत् प्राधिकरणलाई यहाँ उत्पादित विद्युत् प्रतियुनिट रु ७.३० का दरले विक्री गर्ने गरी सम्झौता भइसकेको जानकारी दिनुभयो । (रासस)





