चितवन । राष्ट्रिय जनमोर्चा, चितवनले विवादित अमेरिकी परियोजना एमसीसी खारेजीको माग गर्दै मोटरराइकल र्यालीको आयोजना गरेको छ ।
शनिबार नारायणगढको पोखरा बसपार्क देखि पूर्वी चितवनको लोथरसम्म मोटरराइकल र्याली गरेको हो ।
कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुले एमसीसी खारेजीको माग गर्दै चर्को नाराबाजी गरेका थिए । सोही कार्यक्रममार्फत राजमोले संघीयता खारेज गर्नुपर्ने मागसमेत गरेका थिए ।
मोटरसाइकल र्याली अन्तर्गत विभिन्न स्थानमा आयोजित कार्यक्रमलाई राजमोका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
पोखरा बसपार्कमा आयोजित कोणसभालाई राजमो केन्द्रीय सदस्य डम्बर पुरीले सम्बोधन गर्नुभयो ।
यस्तै, पूर्वी चितवनको टाँडीचोकमा केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना र पर्सामा रक्तिम सांस्कृति अभियानका कोषाध्यक्ष मोहराज चालिसे तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का महासचिव सालिकराम सापकोटाले सम्बोधन गनूभएको थियो ।
लोथरमा आयोजित समापन कार्यक्रमलाई राजमो जिल्ला अध्यक्ष अमर क्षेत्री, नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकाल र राजमो जिल्ला कोषाध्यक्ष विष्णु शर्माले सम्बोधन गर्नुभएको थियो ।
समापन समारोहको अध्यक्षता जिल्ला अध्यक्ष अमर क्षेत्री र सञ्चालन विशाल पन्तले गर्नुभएको थियो ।