काठमाडौँ । नेकपा (मसाल) ले हिक्मतसिंह खत्रीक्षेत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असोज १४ गते आइतबार शोकवक्तव्य जारी गर्दै पार्टीले श्रद्धाञ्जली तथा सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।
वक्तव्यमा हिक्मतसिंहले पार्टी र जनवर्गीय सङ्गठनमा खेलेको भूमिका स्मरण गरिएको छ ।
हिक्मतसिंहको निधनबाट पार्टीको आन्दोलनको क्षति पुगेको निष्कर्ष निकालिएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“प्युठान जिल्ला झिमरुक गाउँपालिका वडा नं. ४ निवासी कामरेड हिक्मतसिंह खत्रीक्षेत्री (का. दर्पण) को २०८० असोज १० गते राती ७४ वर्षको उमेरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।
का. क्षेत्रीको जीवनशैली सरल रहेको थियो । उहाँ हाम्रो पार्टीको इमानदार, प्रतिबद्ध, अनुशासित र जुझारु सदस्य हुनुहुन्थ्यो । उहाँले पार्टीका साथै सामाजिक जीवनमा समेत महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । का. क्षेत्रीले फरिदावादमा अखिल भारत नेपाली एकता समाजबाट कम्युनिस्ट आन्दोलनमा सहभागी हुनुभएको थियो । २०४६ सालमा नेपाल फर्केर उहाँ पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय सहभागी हुनुभयो । उहाँ अखिल नेपाल किसान महासङ्घ (अप्फा) को प्युठान जिल्ला अध्यक्ष पनि हुनुभएको थियो ।
पञ्चायत विरुद्धको आन्दोलनमा तत्कालीन सरकारबाट निर्घात यातना भोग्नुभएका का. क्षेत्री त्यति बेलादेखि नै मेरुदण्डको बिमारी हुनुहुन्थ्यो । पछिल्लो समयमा उहाँ मेरुदण्डको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”