काठमाडौं । नेपाल आयल निगमले शनिबार मध्यरातिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ।
यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्री हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्याइएको छ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले महँगिएको छ भने डिजेल तथा मट्टितेलमा ६ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ।
अब पेट्रोलको मूल्य पहिलो वर्ग १८२ रुपैयाँ ५ पैसा, दोस्रो वर्गमा १८४ रुपैयाँ र तेस्रो वर्ग १ सय ८५ प्रतिलिटर पुगेको छ। निगमले छुट्याएको वर्गअनुसार पहिलोमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो छन्।
दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल छन्।
गत साउनयता मात्र खाना पकाउने ग्यास ४ सय ५० रुपैयाँले महँगिएको छ। यो वृद्धि २७ प्रतिशतभन्दा बढी हो।
यसअघि भदौ १४ गते मात्र २ सय ३५ रुपैयाँले ग्यासमा मूल्य बढाइएको थियो । त्यतिन्जेल १ हजार ६ सय ६० रुपैयाँ प्रतिसिलिन्डर खुद्रा बिक्री हुँदै आएको थियो।