काठमाडौं । नेपाल आयल निगमले १४.२ केजी क्षमता भन्दाबढीका ग्यास सिलिन्डर प्रयोग नगर्न उपभोक्ता र बिक्रेतालाई सूचित गरेको छ ।
क्षमताभन्दा बढी तौलका ग्यास सिलिन्डर प्रयोग गर्नु गैर कानुनी भएकोले प्रयोग नगर्न÷नगराउन निगमले आग्रह गरेको छ।
केही ग्यास उद्योगहरुले १४.२ केजी क्षमताका भन्दा बढी जस्तै ५० केजी, ४५० केजी क्षमताका सिलिन्डरहरुमा समेत एलपी ग्यास भरी बिक्री वितरण गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको निगमले जनाएको छ।
निगमसँग आवद्ध केहि ग्यास उद्योगहरुले वढि क्षमताका सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमतिमाग गरेकोमा निगमले एलपी ग्यास विनियमावली, २०६५ (संशोधन सहित) अनुसार अनुमति दिन नसकिने जानकारी गराइसकेको स्पष्ट पारेको छ।
तसर्थ १४.२ केजी भन्दाबढी जस्तै ५० केजी, ४५० केजी क्षमताका सिलिन्डरहरुमा ग्यास भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न पनि निगमले सूचित गरेको छ।
निर्धारित तौल भन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गरेको पाइएमा कारवाही गर्नेसमेत निगमले चेतावनी दिएको छ।