काठमाडौं । नेकपा माओवादी केन्द्रले जनमोर्चाबाट पार्टीमा आएका व्यक्तिहरुसँग सम्बन्ध राम्रो बन्न नसकेको निष्कर्ष निकालेको छ ।
शनिबार काठमाडौंको महाराजगञ्जमा आयोजित एक कार्यक्रममा माओवादीका सचिव देवेन्द्र पौडेलले ‘विशेष रुपान्तरण अभियान’ को प्रारम्भिक रिपोर्ट प्रस्तुत गर्दै सो विवरण सार्वजनिक गरेका हुन् ।
पूर्वमाओवादी र एकता प्रक्रियामा जोडिका जनमोर्चाबीच अझै सम्बन्ध सुधार नदेखिएको रिपोर्टमा उल्लेख छ । विशेष अभियान सञ्चालन गरिरहेको माओवादीले कार्यकर्ता र जनस्तरबाट आएका गुनासोको आधारमा सो निष्कर्ष निकालेको हो ।
साथै, संघ र प्रदेश चुनावमा भएको चुनावी खर्चको व्यवस्थापनमा मनमुटाव देखिएको, पार्टीको विधि, पद्धति र सिद्धान्त मान्न छोडेको, नेतृत्व अस्वीकार गर्ने क्रम बढेको, नेताहरू सुगममा मात्र जाने गरेको जस्ता समस्या देखिएको रिपोर्टमा उल्लेख छ ।
विशेष रूपान्तरण अभियानमा युवाहरू आकर्षित हुन नसकेको पनि माओवादीको निष्कर्ष छ ।
माओवादी कमजोर हुनुमा मुख्य समस्या आन्तरिक गुटबन्दी, अन्तरविरोध, अन्तर्घात र जनताबाट पार्टी टाढिनु मुख्य समस्या भएको औंल्याइएको छ ।
यसैगरी जनता र नेताबिचको सम्बन्ध टाढिएको, चुनावमा बाहेक नेताहरूको फोन उठ्न छोडेको, विकास निर्माणको काममा ध्यान नदिने, ठेक्कापट्टा तथा विकास निर्माणमा भएका अनिमियतामा ध्यान नदिएको लगायत जनस्तरबाट गुनासा आएको माओवादीले जनाएको छ ।
२०६२/०६३ सालको जनआन्दोलन यता चारपटकसम्म सरकारको नेतृत्व गरेको र अधिकांश समय सत्तामा बसेको माओवादीप्रति जनतामा वितृष्णा बढ्दै गइरहेको देखिन्छ ।