काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सही राजनीतिबिना परिवर्तन सम्भव नभएको बताउनुभएको छ ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) काठमाडौँको आयोजनामा २०८० भदौ ३० गते शनिबार सम्पन्न प्रशिक्षण भेलामा सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
सम्बोधनको क्रममा उहाँले किसानका आफ्नै प्रकारका व्यावहारिक समस्या भएको र त्यसलाई मार्गनिर्देशन गर्नका लागि सही राजनीति आवश्यक भएको बताउनुभयो ।

‘सबै कुरा सही विचार, दृष्टिकोण र चेतनाले फैसला गर्दछ’ उहाँले भन्नुभयो– ‘यो कुरा साम्राज्यवादीहरूले प्रष्ट रूपमा बुझेका छन् । त्यसैले उनीहरू धर्म, स्वर्ग, नर्क, तीर्थ, ब्रततिर आम जनतालाई भुलाउँछन् ।’
महाममन्त्री सिंहले किसानहरू सङ्गठित नभई परिवर्तन सम्भव नभएकाले उनीहरूलाई सही राजनीतिक चेतना दिनुपर्नेमा जोड दिनुभयो ।
राजनीतिमा ध्यान नदिँनुको परिणामस्वरूप हाम्रा छोराछोरी राजनीतिबाट विमुख हुने बताउँदै उहाँले परिवारमा नै सही राजनीतिको कुरा गर्नुपर्ने बताउनभयो ।
प्रशिक्षणको क्रममा उहाँले हिँजोभन्दा आज नेपालमा एकातिर जनताको समस्या गम्भीर बन्दै गएको तथा अर्कातिर, देशको गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि गम्भीर खतरा आइपरेकाले त्यसका विरुद्ध सम्पूर्ण किसान तप्का सचेत र सजग हुनुपर्ने बताउनुभयो ।
प्रशिक्षण भेलामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समसामयिक राजनीतिक विषयमा छलफल चलाउनुभएको थियो ।

उहाँले आजभोलि भारतीय साम्राज्यवादका साथै अमेरिकी साम्राज्यवादको खतरा बढ्दै गएकोतर्फ उपस्थित सहभागीको ध्यानाकर्षण गराउनुभयो ।
‘आजभोलि अमेरिका ढोकैमा आइरहेको छ, तपाईंहरूले त देख्नुभएको छ नि’ उहाँले भन्नुभयो– ‘अमेरिका र चीन लड्ने, त्यसको मैदान हामी बनिदिनुपर्ने अवस्था एमसिसी, एसपिपीले बनाउँदै छ ।’
उहाँले नेपाली जनता राष्ट्रियताप्रति बेलैमा सजग नहुने हो भने देश सुडान बन्न सक्नेतर्फ सचेत गराउनुभयो ।
त्यस्तै, किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले किसान आन्दोलनको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंह, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मी र किसान नेता नीलकण्ठ अमात्यले पनि विभिन्न विषयमा मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपाने, राजमो काठमाडौँका सचिव छवि खनाल, किसान नेता बिबी विष्ट, राष्ट्रिय भूमि आयोग भक्तपुरका सदस्य शारदा कोजुको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रमको अध्यक्षता बेगम खड्काले र सञ्चालन केबी घलेले गर्नु भयो भने स्वागत रामप्रसाद भुसालले गर्नुभएको थियो ।
