भरतपुर । नारायणगढ बजारनजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ (माथिल्लो भागमा) बनाइने भएको छ ।
पूर्वपश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन लागिएको हो ।
सडक विभागअन्तर्गतको पुल महाशाखाले नक्साङ्कनसहित पुल निर्माणका लागि टुन्डी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ ।
महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्ण अधिकारीका अनुसार गत जेठ १९ गते ४८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।
पुल अहिले भइरहेको पुलको माथिल्लो अर्थात् उत्तरतर्फ निर्माण हुने छ । निर्माण कम्पनीले पहिलो एक वर्षमा नक्साङ्कनको काम सम्पन्न गर्नुपर्ने हुन्छ । हाल प्रारम्भिक नक्साको काम कम्पनीले गरिरहेको उहाँले जानकारी दिनुभयो । पुल कम्तीमा चार सय २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने छ । भविष्यमा नदीमा पानीजहाज, स्टिमर सञ्चालन गर्दा समस्या नहुने गरी पुल निर्माण गरिने छ ।
पुल निर्माणका लागि रु एक अर्ब ६८ करोड हाराहारी खर्च हुने छ । हाल सञ्चालनमा रहेको पुल विसं २०३८ मा निर्माण भएको हो । यो पुलको आयु ७० वर्ष रहेको बताइएको छ । (रासस)





