कञ्चनपुर । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सुदूरपश्चिममा पार्टी संगठन सखाप पार्यौं भन्नेहरुलाई कञ्चनपुरको जिल्ला सम्मेलनले दह्रो झापड दिएको बताउनुभएको छ । सोमबार बेलौरीमा राजमो कञ्चनपुरको छैठौं जिल्ला सम्मेलन उद्घाटन गर्दै महासचिव भट्टले यस्तो बताउनुभएको हो ।
करिब दुई वर्षअघि सुदूरपश्चिममा एउटा समूह राजमो सखाप पार्ने भन्दै माओवादीमा प्रवेश गरेको थियो । सो समूहले पार्टी छोडेर माओवादीमा छिरेपछि राजमो झन् बलियो बनेको स्थानीय कार्यकर्ताको बुझाई छ ।
महासचिव भट्टले सोही प्रशंग उल्लेख गर्दै भन्नुभयो, ‘हाम्रो पार्टी सखाप पार्छौं भन्नेले बेलौरीको जुलुश हेरुन् । पार्टीबाट गलत तत्व बाहिरिएपछि पार्टी कमजोर हुँदैन । झन् मजबुत हुन्छ ।’
भट्टले गलत तत्वहरुको भ्रममा परेर पार्टी छोडेका इमान्दार कार्यकर्तालाई पार्टीमा फर्केर देश र जनताको पक्षमा भइरहेको संघर्षमा साथ दिन आह्वान पनि गर्नुभयो ।
सोमबार राजमो कञ्चनपुरले छैठौं जिल्ला सम्मेलनका अवसरमा बेलौरी बजारमा जुलुश प्रदर्शनसहित उद्योग वाणिज्य संघमा कार्यक्रम आयोजना गरेको थियो । महासचिव भट्टले प्रमुख अतिथिको आशनबाट सभालाई सम्बोधन गर्दै हुनुहुन्थ्यो ।
फरक प्रशंगमा महासचिव भट्टले सत्तारुढ दलहरुले नै भ्रष्टाचारलाई मलजल गरिरहेको आरोप लगाउनुभयो । उहाँले सत्तारुढ माओवादी, एमाले वा कांग्रेसका नेताहरु नै भ्रष्टाचारमा चुर्लम्म डुबेको आरोप लगाउनुभयो ।
नेता भट्टले माओवादीका अधिकांश नेता तिनका पुत्र तस्करसँग मिलेर तस्करी गरिरहेको बताउनुभयो । उहाँले सरकारले भ्रष्टाचारविरुद्ध केही कदम चालेर सकारात्मक काम गरेको भएपनि आफ्ना नेता कार्यकर्ताको नाम मुछिनासाथ मुद्दा कमजोर पार्ने गरेको आरोप लगाउनुभयो ।
भट्टले देशलाई विदेशीको क्रिडास्थल बनाउने एमसीसी खारेज गर्न माग गर्नुभयो । साथै, संघीयता अब देशले धेरै दिन पाल्न नसक्नेमा पनि उहाँले जोड दिनुभयो ।
फरक प्रशंगमा नेता भट्टले प्रधानमन्त्रीले मन नलागि नलागि चीन भ्रमण गर्न लागेको उल्लेख गर्दै चीन भ्रमणका क्रममा नेपालको कालापानी लगायतका क्षेत्र समेटेर तयार पारेको चुच्चे नक्सालाई समर्थनका लागि पहल गर्न आग्रह पनि गर्नुभयो ।
सम्मेलनले रामबहादुर कार्कीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
राजमो कञ्चनपुरको अध्यक्षमा रामबहादुर कार्की