काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१३, स्थित श्री कन्यादेवी आधारभूत विद्यालयकी प्रावि तृतीय शिक्षक मञ्जु कुमारी थापा (ओझा) विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
शिक्षिका थापाले भारतबाट एसएलसी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ल्याई सरकारी विद्यालयमा पठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
सो सम्बन्धी उजुरी निवेदनमाथि अनुसन्धान हुँदा शिक्षिका ओझाले मिति २०५५ मंसिर ११ मा साविक श्री कन्यादेवी निम्न माध्यमिक विद्यालय, नुवाकोटमा प्रावि तहको अस्थायी शिक्षक दरबन्दीमा नियुक्ति हुन र मिति २०७५ चैत २९ मा श्री कन्यादेवी आधारभूत विद्यालय, नुवाकोटमा स्थायी नियुक्ति हुनका लागि विहार संस्कृत शिक्षा बोर्ड, भारतबाट मध्यमा तहको परीक्षा उतिर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको अख्तियारको ठहर छ।
शिक्षकको हैसियतमा लाभ लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारको भनाई छ।
उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।