काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। निवेदक हिक्मत कार्कीको माग बमोजिम रिट जारी गर्दै थापालाई पदमुक्त गरेको हो।
कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो।
कोशीका मुख्यमन्त्री थापाले सभाध्यक्ष भूमिका निर्वाह गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीसहितको मतबाट बहुमत पुर्याएपछि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।
जसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाइएको थियो।
गत भदौ ४ गते थापाले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। विश्वासको मत लिँदा संविधानको उल्लंघन भएको भन्दै एमाले दोस्रोपटक सर्वोच्च पुगेको हो।
यता, मुख्यमन्त्री थापा पक्षले भने उपसभामुख सिर्जना दनुवार बैठक बोलाएर काठमाडौं गएर आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाएको छ। एमालेले आफ्नो ज्येष्ठ सांसदहरूलाई समेत बैठकमा अनुपस्थित गराएको थियो।
यदी उपसभामुख अथवा एमालेका ज्येष्ठ सांसदले सभाध्यक्षता गरेको भए थापाले निर्विवाद आवश्यक बहुमत पाउने थिए।
सर्वोच्चले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ।
निवेदक कार्कीको माग बमोजिम रिट जारी गर्दै सर्वोच्चले उनलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो।