काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङ (जेसीईटी) ब्यालेन्स नेल’ को चालिसौं संस्करण यही भदौ २४ गतेबाट काठमाडौं उपत्यकामा सुरु हुने भएको छ।
तालिम असोज १२ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उध्दार, मानवीय सहायता लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ।
नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उध्दार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरु लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको छ।
भाद्र २४ गतेदेखि हुने अभ्यासमा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्री सहित भोलि (२१ गते) अमेरिकी वायु सेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने र उक्त विमान २२ गते फिर्ता हुने कार्यक्रम रहेको छ।
यसैबिच, संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक ‘एक्सरसाइज क्याम्ब्रिन पेट्रोल’मा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली बुधबार प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको छ।