काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले तत्कालिन सरकारले छिमेकी देशहरुलाई चुच्चे नक्सा पठाएको विवरण नभेटिएको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कार्यालयमा आइतबार बिहान पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
‘२०७५ सालमा संसद्बाट पास गरेपछि छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसम्म नक्सा गइसकेको जानकारी भेटिएन,’ साउदले भने, ‘तत्कालीन अवस्थामा जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको बताएका थिए। तर नक्सा पठाइएको कूटनीतिक विवरण भेटिएन।’
यसबारे परराष्ट्र मन्त्रालयले सन् २०२० मै नेपाली संसदबाट सर्वसम्मतिले स्वीकृत नक्सामा नेपाल दृढतासहित स्पष्ट उभिएको जनाएको छ। परराष्ट्रले नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने पनि बताएको छ।
चीनले यही अगष्ट २८ तारिखमा नेपालले नयाँ नक्सामा समावेश गरेको लिपुलेक र लिम्पियाधुरासहितको भूभाग भारतमा परेको उल्लेख थियो। कालापानीसमेत भारतमा देखाइएपछि नेपाल रुस्ट छ।
मन्त्री साउदले पछिल्लो समय देखिएको नक्सा र लामो समयदेखिको सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान गरिने जवाफ दिए।
‘हामी हाम्रो नक्सामा प्रतिवद्ध छौँ। धेरै विवाद गरिरहने भन्दा सबै देशसँग कूटनीतिक संवाद र छलफलबाट समाधान गर्छौँ,’ साउदले पत्रकारहरुलाई भने, ‘हामी हाम्रो नक्साको सबै छिमेकी मुलुक र अन्य देशले पनि सम्मान गरुन् भन्ने चाहन्छौँ।’