काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्यसमेत रहनुभएकी मेस्मा पुनको भिडियो तिजी एलबम “हेपिएकी चेली” सार्वजनिक भएको छ ।
चिरन सीको युट्युब च्यानलबाट २०८० भदौ १४ गते बिहीबार उक्त भिडियो एल्बम सार्वजनिक भएको हो ।
मेस्मा पुनको स्वर तथा चिरन सीको शब्द र सङ्गीत रहेको उक्त भिडियोमा कोरस गायिका सारदा रसाइली र जयन्ता मगर रहनुभएको छ ।
भिडियोमा सङ्गीत संयोजन नारायण दङ्गालको तथा निर्देशन केशु पुनमगरको रहेको छ ।
भिडियोमा केशु पुनमगर, बबिता थापामगर, रेनु पुन, मेस्मा पुन, समष्टि बुढा, मीना पुन, मालता बेलबासे, विष्णु ओली, चन्द्रा थापा, पूजा चौधरी, युजिन श्रेष्ठ, कविता सी, सन्ध्या सी, सभ्यता सी, अनिता घिमिरे, पूर्णकला विक, बेलुमाया गुरुङ, पूजा बेलबासे, कमला सी, निलम सिँजाली, बेली सिँजाली, बिनु थापा, पार्वतादेवी खत्रीलगायतको अभिनय रहेको छ ।
यस्तो छ, गीतको शब्द :
साह्रै मिल्ने साथी थियौँ पहिरोले लग्यो पोहोर
डाडाँ काटी जाऊँ त भने बिरानो भो त्यो सहर
जाऊँ त भने जाने ठाउँ छैन
बसौँ भने बसिसाध्य छैन
हामी नारीलाई बरिलै
त्यसैले, यो तिजमा छमछम छमछम नाच्नेमन छैन बरिलै
त्यसैले, यो तिजमा बारुले कम्मर भाच्नेमन छैन बरिलै
गणतन्त्र आयो भन्छन् उस्तै छ विभेदहरू
उत्पीडक मुक्त हुन्छन् अन्धो झन कानुनहरू
बुझौँ भने बुझिसाध्य छैन
लेखौँ भने लेखिसाध्य छैन
सामाजिक हाल बरिलै
त्यसैले……..
स्वाधीनतामा खुनी पन्जा विदेशीको हैकम चल्ने
आफ्नै देशको सिमानामा पराइको गोली चल्ने
भनौँ भने भनिसाध्य छैन
नभनौ त त्यो झन् मिलेन
यो देशको चाल बरिलै
त्यसैले……..
सामाजिक विकृतिले देश जर्जर बनेको छ
जनविरोधी संस्कृतिले सङ्कट झन् पारेको छ
हेराँै भने हेरिसाध्य छैन
सुनौँ भने सुनिसाध्य छैन
देशको संस्कृति बरिलै
त्यसैले……..
हेपिएका नारीहरू एकजुट भई उठ्नुपर्यो
श्रमजीवी आवाजहरू एक ठाउँमा जुट्नुपर्यो
हामी सबै नमिली भएन
काँडाहरू नझारी भएन
उठ सबै नारी बरिलै
त्यसैले……..