सन्तोष सुनार, सन्धिखर्क ।
विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एम.सी.सी) यही भदौ १३ गते बुधबारदेखि कार्यान्वयन हुने भएपछि राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको निर्णयअनुसार अर्घाखाँची जिल्लामा विरोध प्रदर्शन गरेको छ ।
एम.सी.सी. कार्यान्वयन गराउन एम.सी.सी.का उपाध्यक्ष क्यामरुन एस। अलफोर्ड तीन दिने भ्रमणमा भदौ १२ गते नेपाल आएपछि राजमोले विरोध प्रदर्शन गरेको हो ।
एम.सी.सी. को सुरुदेखि नै विरोध गर्दै आएको राजमोले भदौ १३ गते नै अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कस्थित शान्तिबगैँचा चोकमा विरोध प्रदर्शन गरेको थियो ।

विरोध प्रदर्शनमा राजमो जिल्ला अध्यक्ष थम्मन केसी सम्बोधनगर्नु भएको थियो ।
विरोधसभाको सम्मोदन गर्दै केसीले अहिले देशमा विशेष गरी मुख्य राजनीतिक दल एमाले, माओवादी र नेपाली काङ्ग्रेसका कारण सङ्घीयता, अवैध सुनतस्करी, एस.पी.पी. र एम.सी.सी. जस्ता देशलाई कमजोर पार्ने घातक क्रियाकलाप र परियोजना मौलाउन मदत गरेको बताउनुभयो ।
‘नेपाल कुनै पनि राजनीतिक दलको पैत्रिक सम्पत्ति नभएर हाम्रा महान् सहिद र पुर्खाहरूको चिनो हो । यसको संरक्षण गर्नु हरेक नेपालीको दायित्व हो’ उहाँले भन्नुभयो– ‘राष्ट्रियताको संरक्षणका लागि हाम्रो पार्टी राजमो यस्ता समाजमा रहेका घातक तत्त्वहरूको विरुद्ध कडा सङ्घर्ष गर्ने छ ।’

विरोधसभाको सञ्चालन राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलले गर्नुभएको थियो भने सभामा राजमो तथा विभिन्न जनवर्गीय सङ्गठनका केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका नेताहरूको उपस्थिति रहेको थियो ।
