काठमाडौँ । नेकपा (मसाल) ले कोशी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा राप्रपा जस्तो प्रतिक्रियावादी शक्तिसित साँठगाँठ गरेकोमा त्यसलाई आपत्तिजनक बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० भदौ ११ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले त्यसको विकल्पमा राजनीतिक वा संवैधानिक विकल्पमा जानुपर्ने अन्यथा मध्यावधि चुनाव गराएर भए पनि समस्याको समाधान गनर्नुपर्ने बताएको हो ।
त्यस्तै, वक्तव्यमा साम्प्रदायिकताको विरोधमा उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ । कोशी प्रदेशमा देखा परेको धार्मिक तथा साम्प्रदायिक तनावले देशका अन्य स्थानमा पनि दुष्प्रभाव फैलाउने भन्दै पार्टीले यस खालको सतर्कतामा जोड दिएको हो ।
पार्टीले देशमा भ्रष्टाचारको छानबिन प्रकरणमा कतिपय उच्चपदस्थ व्यक्तिलाई पाखा राखिएकोमा त्यसलाई न्यायसङ्गत नभएको बताएको छ ।
एमसिसीको कार्यान्वयन यही भदौदेखि हुन थालेकोमा पार्टीले विरोध गर्दै वक्तव्यमा त्यसका विरुद्ध राष्ट्रिय जनमोर्चाले भदौ १३ गते बुधबार देशव्यापी कार्यक्रम राखेकोमा त्यसलाई सफल पार्न अनुरोध गरिएको छ ।
विश्वव्यापी रूपमा साम्राज्यवादी खतरा बढ्दै गइरहेको, त्यसको फलस्वरूप तेस्रो विश्वयुद्ध भई आणविक हतियारले मानव समुदाय नै नष्ट हुने खतरातर्फ इङ्गित गर्दै वक्तव्यमा त्यसका विरुद्ध साम्राज्यवाद तथा फासिवाद विरोधी मोर्चा गठन गर्ने उल्लेख छ ।
वक्तव्यमा काठमाडौँको फोहर व्यवस्थापनको सम्बन्धमा बञ्चरेडाँडाबासीसित सरकारले गरेको सम्झौता अविलम्ब लागु गरिनुपर्ने तथा फोहरको तात्कालिक र दीर्घकालीन व्यवस्थापनको योजना बनाउन पनि आग्रह गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“नेकपा (मसाल) केन्द्रीय कार्यालयको बैठक २०८० भदौ १२ गते कार्यालय सहयोगीहरूसमेतको सहभागितामा बस्यो । त्यो बैठकले देशका कतिपय राजनीतिक समस्याबारे छलफल गरेर कैयौँ महŒवपूर्ण निर्णय गरेको छ । ती निर्णयबारे जानकारी दिन यो प्रेसवक्तव्य जारी गरिएको छ ।
१. कोशीमा एकातिर, इसाई धर्मावलम्बीको गतिविधि धेरै नै बढेर गएको छ । त्यसको परिणामस्वरूप त्यहाँ गम्भीर प्रकारको राजनीतिक स्थिति सृजना हुँदै गइरहेको छ । त्यसका साथै त्यहाँ कट्टर हिन्दुवादीको गतिविधि पनि बढेर गएको छ । भारतबाट आएका राष्ट्रिय स्वयम्सेवक सङ्घको गतिविधि पनि बढेर गएकाले त्यहाँ गम्भीर प्रकारको धार्मिक तनाव र साम्प्रदायिक स्थिति सृजना हुने खतरा बढ्दै गइरहेको छ । त्यस प्रकारको गतिविधिका कारणले कोशी मात्र होइन, देशको सम्पूर्ण राजनीतिमा नै गम्भीर प्रकारको अस्थिर स्थिति उत्पन्न हुने सम्भावना छ । हाम्रो पार्टीको कोशी प्रदेशमा तयार भइरहेको त्यस प्रकारको स्थितिमाथि गम्भीर ध्यान आकर्षित भएको छ र त्यसबारे उच्च सतर्कताको नीति अपनाउन हामीले सम्पूर्ण नेपाली जनतासित अपिल गर्दछौँ ।
२. कोशीको प्रदेशसभामा सरकार निर्माणको सन्दर्भमा पैदा भएको गम्भीर स्थितिको समाधानको लागि सरकारले राप्रपासँग साँठगाँठ गरेर त्यहाँको सरकारमा उनीहरूलाई सामेल गर्ने तथा केन्द्रमा एउटा संसदीय समितिको सभापतिसमेत दिने निर्णय गरेको छ । त्यसलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिएको छ । कोशीमा पैदा भएको त्यो स्थितिलाई अन्य कुनै उचित राजनीतिक वा संवैधानिक तरिकाले समाधान गरिनुपर्दथ्यो । त्यस प्रकारको अन्य कुनै सम्भावना नभएमा त्यहाँ मध्यावधि चुनाव गराएर भए पनि समस्यालाई टुङ्ग्याउने प्रयत्न गरिनुपर्दथ्यो । त्यसको सट्टा एउटा प्रतिगामी शक्तिसित साँठगाँठ गर्ने तरिकालाई हाम्रो पार्टीले गम्भीर रूपले गलत मान्दछ र त्यसबाट प्रतिगमनलाई प्रोत्साहन मिल्ने कुरा प्रष्ट छ । त्यसैले हाम्रो पार्टीले उक्त निर्णयको कडा शब्दमा आलोचना र भत्र्सना गर्दछ ।
३. देशमा बढ्दै गएको भ्रष्टाचारका विभिन्न काण्डप्रति हाम्रो पार्टीले गम्भीर चिन्ता र क्षोभ प्रकट गर्दछ । त्यस सिलसिलामा निस्पक्ष तरिकाबाट भ्रष्टाचारका सबै अभियुक्तमाथि छानबिन गर्नुपर्नेमा कतिपय उच्चस्तरीय व्यक्तिलाई कारबाही चलाउने विषयमा नै छुट दिएको कार्यप्रति पनि हाम्रो ध्यान गएको छ । विभिन्न काण्डमा अभियुक्त बनाइएका व्यक्तिमध्ये छानबिन वा पुर्पक्षपछि निर्दोष सावित हुने सम्भावनालाई पनि हामीले अस्वीकार गर्न सक्दैनौँ तैपनि सुरुमा नै त्यस प्रकारको कारबाहीमा कसैलाई छुट दिनु सही र न्यायसङ्गत नभएको कुरा स्पष्ट छ ।
४. भदौ १३ गते देखि एम.सी.सी. लाई कार्यान्वयन गर्ने सरकारको घोषणाप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । एम.सी.सी. सम्झौताले नेपाललाई अमेरिकाको इन्डो–प्यासिफिक रणनीति र अमेरिकाको सुरक्षापङ्क्तिमा सामेल गर्ने छ । त्यसकारण हामीले सुरुदेखि नै त्यसको विरोध गर्दै आएका छौँ र अहिले पनि त्यसको कडा शब्दमा विरोध गर्दछौँ ।
५. राष्ट्रिय जनमोर्चाले एम.सी.सी. लाई भदौ १३ गतेदेखि लागु गर्ने सरकारको घोषणाका विरुद्ध देशव्यापी रूपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । हामीले त्यो कार्यक्रमलाई देशव्यापी रूपमा सफल पार्न पार्टीका सबै कमिटी, सदस्य र समर्थकसमेत सित अपिल गर्दछौँ । उक्त कार्यक्रममा समान समझदारी भएका अन्य पक्षसित पनि सहकार्य गर्ने हाम्रो प्रयत्न हुने छ तर त्यसो गर्दा राजवादीसित कुनै पनि स्तरमा सहकार्य नगर्ने हाम्रो नीति भएको कुरा पनि हामीले स्पष्ट गर्न चाहान्छौँ ।
६. काठमाडौँ उपत्यकाको फोहरको समस्या लामो समयदेखि समाधान हुन नसकेको कुराप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ । आजै सञ्चारमाध्यमहरूले ल्याएका समाचारअनुसार, उक्त विषयमा सरकार वा काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडासमेत सित गरिएका सम्झौतालाई कार्यान्वयन नगरिएमा असोज १ गतेदेखि काठमाडौँको फोहर उठाउन सधैँका लागि बन्द गर्ने भन्ने बञ्चरेडाँडाका जनताले चेतावनी दिएका छन् । हाम्रो यो स्पष्ट सोचाइ छ कि प्रथम, सरकार वा काठमाडौँ महानगरपालिका उक्त विषयमा बञ्चरेडाँडाका जनतासित गरिएका सम्झौता लागु गरिनुपर्दछ; द्वितीय, काठमाडौँ उपत्यकाको फोहरबारे तात्कालिक वा दीर्घकालीन योजना बनाएर अथवा विद्युत्, कृषिमलसम्बन्धी कुनै उद्योगको स्थापना गरेर उक्त समस्यालाई समाधान गर्ने प्रयत्न गर्नुपर्दछ । यो कुराप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान गएको छ कि उक्त फोहरका कारण बञ्चरेडाँडासमेतका स्थानीय जनता असह्य दुर्गन्ध वा विभिन्न गम्भीर प्रकारका रोगका कारणले लामो समयदेखि पीडित हुँदै आउनुपरेको छ । काठमाडौँमा केही दिन मात्र पनि फोहर उठेन भने त्यसबाट पैदा हुने असह्य दुर्गन्धका कारणले जुन प्रकारको गम्भीर स्थिति उत्पन्न हुन्छ, त्यही प्रकारले बञ्चरेडाँडा वा त्यस आसपासका जनता पनि त्यस प्रकारको दुर्गन्धबाट पीडित हुनुपरेको वास्तविकताप्रति संवेदनशील हुनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन चाहान्छ ।
७. अहिले विश्वव्यापी रूपमा नै साम्राज्यवादको खतरा बढ्दै गएको छ र त्यसको परिणामस्वरूप युद्धको पनि गम्भीर खतरा देखा पर्दै छ । विश्वव्यापी रूपमा देखा पर्दै गइरहेको यस्तो खतराको नेतृत्व अमेरिकी साम्राज्यवादले गरिरहेको छ । त्यो अवस्थामा तृतीय विश्वयुद्धको खतरा र आणविक हतियारको कारणले मानवजाति नै समग्र रूपमा नष्ट हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
अहिले विभिन्न साम्राज्यवादी शक्तिहरूको बढ्दो गतिविधिबाट नेपालमा पनि कैयौँ गम्भीर समस्या देखा पर्दैै गइरहेका छन् । साम्राज्यवादको कारणले विभिन्न देशमा सीमित प्रकारको प्रजातान्त्रिक प्रणाली समाप्त भएर फासिवादको खतरा बढ्दै जाने सम्भावना पनि गम्भीर रूपमा विद्यमान छ । त्यो अवस्थामा अमेरिकी साम्राज्यवाद र फासिवादका विरुद्ध संयुक्त मोर्चाको विश्वव्यापी आवश्यकता छ । हाम्रो पार्टीले त्यस प्रकारको संयुक्त मोर्चा निर्माणका लागि जोड दिन्छ र त्यसका लागि बढीभन्दा बढी योगदान दिने प्रयत्न गर्ने छ । आज अमेरिकी साम्राज्यवाद बाह्य रूपमा जतिसुकै शक्तिशाली जस्तो देखिए पनि आन्तरिक रूपमा त्यो कमजोर हुँदै गइरहेको छ र अन्तर्राष्ट्रिय रूपमा त्यसको विरुद्ध निर्माण हुने संयुक्त मोर्चाले त्यसलाई निर्णायक रूपले पराजित गर्न सफल हुने छ भन्ने कुरामाथि हामीलाई दृढ विश्वास छ ।”