काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न सरकारसँग माग गरेका छन् ।
२०८० भदौ १२ गते मङ्गलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
त्यसैगरी उनले डेडिकेटेड ट्रङ्क लाइनबाट बिजुली लिने तर अर्बौं महसुल नतिर्नेसँग मन्त्रीले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने गरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद सुवालले भने– ‘डेडिकेटेड ट्रङ्क लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेसँग कुन कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ । बिजुली महसुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्बन गरी कारबाही गर्न जरुरी छ’ ।
सांसद सुवालले राजनीतिक दलले राष्ट्रिय मान्यताप्राप्त गर्न तीन प्रतिशत मत ल्याउनैपर्ने प्रावधानसहितको निर्वाचनसम्बन्धी एकीकृत मस्यौदा लोकतन्त्रको मर्म विपरीत रहेकाले मान्य नहुने बताए ।
उनले अगाडि भने– ‘निर्वाचन आयोगले निर्वाचनसम्बन्धी एकीकृत विधेयक मस्यौदा गरेको छ तर राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा तीन प्रतिशत प्राप्त गर्नुपर्ने प्रजातन्त्र विपरीतको प्रावधान यथावत राखिएको छ । यो मतसीमा हटाउन सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा छ वर्ष भयो तर फैसला भएको छैन ।’