महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकलाई कुटपिट गरिएको विरोधमा शिक्षकहरु आन्दोलित भएका छन् ।
सिद्धनाथ माध्यमिक विद्यालयमा लेखा सहायक पदमा कार्यरत वीरेन्द्र प्रसाद जोशीमाथि भएको कुटपिटको विरोधमा नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिले जिल्लाब्यापी आन्दोलन घोषणा गरेको हो ।
घटनाको विरोधमा कञ्चनपुरमा सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालय अनिश्चितकालीन रुपमा बन्द भएका छन् ।
भदौ ३ गते एक छात्राले शिक्षक जोशीले आफूलाई ‘ब्याड टच’ गरेको आरोप लगाएकी थिइन्। प्रहरीले हतकडी लगाएर भ्यानसम्म ल्याउँदा विद्यालय परिसरमा एक समूहले जोशीलाई निर्घात कुटपिट गरेको थियो।
सुरक्षा दिनुपर्ने प्रहरीको नियन्त्रणमा रहेका जोशी कुटिँदा प्रहरी मूकदर्शक बनेको आरोप छ।
घाइते जोशीको अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। शिक्षक जोशीले छात्रालाई दुर्व्यवहार नगरेको दाबी गरेका छन्।
भदौ ३ गतेको घटनाको निष्पक्ष न्यायिक छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन, विद्यालयले किटानी जाहेरीका साथै फोटो र भिडिओमा देखिएका अराजक व्यक्तिलाई खोजी गरेर कानुनी दायरामा ल्याउनुपर्ने र सुरक्षामा खटिएका प्रहरी निरीक्षक सीताराम विष्टलगायत अन्य प्रहरी कर्मचारीलाई निलम्बन गरेर कारबाही हुनुपर्ने शिक्षकको माग छ।





