इनरुवा । धरानमा गोरु काटेर खाएको तथा मन्दिरअगाडि चर्च बनाएको विवाद बढ्दै गएपछि सुनसरीको धरानमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीअन्तर्गत जिल्ला सुरक्षा समितिको बैठकले २०८० भदौ ८ गतेदेखि निषेधाज्ञा जारी गरेको हो ।
भदौ ८ गते शुक्रबार राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । प्रशासनले धरान प्रवेश गर्ने तरहरा, नहडा, झन्डाचोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको जनाएको छ । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।
धरानमा गोरु काटेर खाएको र मन्दिरअगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले भदौ ९ गते शनिबार प्रदर्शनको आह्वान गरेका छन् तर त्यसको प्रतिकारमा समेत उत्रने सम्भावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।
धरानको प्रदर्शनमा भारतबाट समेत मानिसहरू आउन थालेको सूचनाका आधारमा झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाइ गरेको प्रशासनले बताएको छ ।
