इन्द्रकुमार श्रेष्ठ सरित् ##
Advertisement
न शब्द छ न त आवाज छ
मौन छु, नि:शब्द छु
युग भयो, समयलाई पर्खिएको
मेरो समय
मलाई भेट्न अहिलेसम्म आएको छैन
तैपनि मलाई खोज्दै आउने
म मेरो समयको प्रतिक्षामा छु
तालु पोल्ने घाम, नरसंहारक बाढी
मलाई कुल्चिँदै अघि बढ्छ
तर म चुपचाप छु
प्रतिक्रियाविहीन बस्छु
मलाई थाहा छ
म मेरो समयको प्रतिक्षामा छु
मोह छ, अनन्त आकर्षण छ
तर गुनासो पटक्कै छैन
करको हैन यो मोह हृदयको हो
म मोहसँग आश्वस्त हैन विश्वस्त छु
समयसँगै आउने
म मेरो समयको प्रतिक्षामा छु
पुसे झरीले निथु्रक्क हुन्छु
फेरि चिसो सिरेटोले शरीर हिउँ बनाउँछ
तैपनि म रोएको छैनँ
म अलिकति पनि थाकेको छैनँ
म मेरै मोहको उष्णतामा रमाएको छु
मेरो तपस्याको तापले पगालेर ल्याउने
म मेरो सुन्दर समयको प्रतिक्षामा छु ।
(तरहरा, सुनसरी, हाल बुढानीलकण्ठ नगरपालिका–९, काठमाडौँं)

