काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन हुने भएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति गरेको हो ।
बैठकमा ६० किलो सुन तस्करीसहित गत माघमा विमानस्थलबाट बरामद भेपमा ल्याइएको ९ किलो सुन तस्करीबारे पनि आयोगद्वारा अनुसन्धान गर्ने सहमति भएको हो।
९ किलो सुनकाण्डमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको नामसमेत जोडिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गरेको अनुसन्धानको प्रतिवेदनमै उनीहरूले उक्त प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग पटकपटक फोन संवाद गरेको उल्लेख गरिएको छ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धान सकेपछि असोज ५ गते उच्चस्तरीय छानबिन समिति बन्ने बताए । उनले बैठकमा अनुसन्धान ब्युरोलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न दिने सहमति भएको पनि बताए ।
उनले ब्युरोले नै अभियोजन पनि गर्ने उल्लेख गरे । उच्चस्तरीय छानबिन समिति बनेको दिनबाट नै कार्यान्वयनमा जाने बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन आयोग असोज ५ गते बनाउने सहमति भएसँगै आजबाट संसद खुल्ने बताए । उनले भेवमा लुकाएर ल्याएको सुन, साउन २ गते पैठारी भएर आएको सुन लगायतका घटनाको बारेमा उच्चस्तरीय छानबिन समितिले गम्भीरताका साथ अध्ययन गर्ने बताए । भविष्यमा यस्ता तस्करी नहुने सुनिश्चिततासहित आयोगले प्रतिवेदन बुझाउने पनि बताए ।
असोज ५ गतेसम्म सिआईबीले अभियोजनको काम सक्ने र असोज ५ गते नै उच्चस्तरीय छानबिन आयोग गठन गरी कार्यान्वयनमा जाने बताए ।