• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठानको जनता शिविरमा साहुमुखियासित भिडन्त

"संक्षिप्त संस्मरण शृङ्खला–२७ "

  •   बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    २०१० सालको फागुन २४ गतेको प्युठान नारीकोटको किसान आन्दोलनबारे धेरै सामग्री बाहिर आएका छन् । कतिपय विदेशी सोधकर्ताले पनि त्यसबारे कैयौँ सामग्री प्रकाशित गरेका छन् । मेरो पुस्तक ‘दुई नाटक’ मा पनि फागुन २४ गतेको शीर्षकले एउटा नाटक प्रकाशित भएको छ । यसबारे एउटा फिल्म पनि बनेको छ तर त्यो नाटक र त्यो फिल्ममा प्रस्तुत सामग्री साहित्यिक रूपले नै प्रस्तुत गरिएको हुनाले तिनीहरू ऐतिहासिक घटनाक्रममाथि आधारित भएता पनि तिनीहरूमा कल्पनाको अंश पनि छ तर फागुन २४ गतेको आन्दोलन एउटा ऐतिहासिक घटना भएको हुनाले त्यससम्बन्धी सत्य तथ्यलाई आधिकारिक रूपमा प्रस्तुत गर्नु आवश्यक हुन गएको छ ।

    Advertisement

    का. जलजला उपन्यासको एउटा परिच्छेद पनि प्युठान नारीकोटको किसान आन्दोलनसित सम्बन्धित छ तर त्यो उपन्यासमा उल्लेख गरिएको सामग्री भएको हुनाले त्यसमा प्रस्तुत विवरणलाई पनि ऐतिहासिक रूपमा स्वीकार गर्न मिल्ने छैन ।

    फागुन २४ गतेको किसान आन्दोलनको प्रारम्भ २०१० सालको पुसदेखि चैतको प्रारम्भसम्म प्युठानको रातामाटामा चलेको जनता शिक्षण शिविरबाट नै भयो । त्यो शिविरमा करिब १०० जना युवकलाई माक्र्सवादी–लेनिनवादी र शारीरिक प्रशिक्षण दिने काम गरिएको थियो ।

    नारीकोटका एकाध किसानले गाउँका साहुमुखियाले उनीहरूमाथि अन्याय गरेका उजुरी शिविरमा गरेका थिए । त्यो उजुरी परेपछि शिविरले किसानमाथि त्यस प्रकारको अन्याय, अत्याचार गरेको थियो वा थिएन ? त्यसबारे स्पष्टीकरण मागेर पत्र पठाएको थियो । त्यसको जवाफमा साहुमुखियाले अरू स्पष्टीकरण लेखेर त पठाएनन्, उल्टो शिविरलाई धम्की दिएर पठाएका थिए : शिविर गाउँमा आए गाउँमा पस्नै नदिने तथा ढुङ्गामुढा गरेर फर्काइदिने । त्यसपछि शिविरले गाउँमा नै गएर साहुमुखियाले गरेका अन्याय–अत्याचारबारे छानबिन गर्ने निर्णय गरेको थियो ।

    त्यसपछि हामी करिब ५० जनाको टोली नारीकोट गाउँतिर लाग्यौँ । त्यो टोलीमा खगुलाल गुरुङ, श्यामबहादुर थापा, रुमबहादुर पाण्डे, सिद्धिमान सिंह, जगतबहादुर जिसी, सिद्धिमान खड्का, लिले कामी, काले कामी, रामचन्द्र थापा, खड्गबहादुर थापा, भुपबहादुर, पदम पुनमगर, रङ्कबहादुर थापा, प्रेमबहादुर खत्री, भीमबहादुर, नन्दलाल गुरुङ, लोकबहादुर खत्री, सिद्धिराज पाण्डे र मसमेत सामेल थियौँ । यदु गिरी र उहाँका दुईओटा छोराहरू भेषमान गिरी र ठाकुर गिरी क्याम्पको रेखदेखका लागि रातामाटामा नै रहनुभएको थियो ।

    नारीकोटको त्यो आन्दोलन भएको अहिले ७० वर्षको लामो समय बिसिकेको छ । त्यसैले त्यो आन्दोलनमा सहभागी भएका कैयौँ साथीहरूको नाम अहिले मलाई सम्झना छैन । त्यो बेलाका सहभागीमध्ये धेरै जनाको मृत्यु भइसकेको छ । मलाई याद भएसम्म त्यो बेला नारीकोटको आन्दोलनमा सहभागी भएकामध्ये अब हामी ४/५ जना मात्र जीवित छौँ : गुल्मी गल्कोटका गिरिराज पाण्डे, प्युठान पाडबाङका प्रेमबहादुर खत्री, भेषमान गिरी, ठाकुर गिरी र म एक जना । अरू पनि केही जीवित भएको भए मलाई थाहा छैन ।

    पहिलो दिन हामी ओखरकोटको दारिमचौर गएर बास बस्यौँ । हामीले पहिले नै नारीकोटको स्थिति बुझ्नका लागि केही साथीहरूलाई पठाएका थियौँ । दारिमचौरमा पुग्दा नारीकोट गएका साथीहरूले उताको रिपोर्ट दिएर आइपुग्नुभएको थियो । नारीकोटका साहुमुखियाले हामीलाई गाउँमा पस्न नदिन कटुवालद्वारा हाको हाल्न पठाएर मान्छे जम्मा गरेर हामी आएमा ढुङ्गामुढा गरेर धपाइदिने योजना बनाएका थिए । उनीहरूले आफ्नो मदतका लागि खुङका ठकुरीलाई पनि बोलाउने योजना बनाएका थिए । खुङका ठकुरीहरू लकडिहात खेल्न सिपालु थिए । उनीहरू तरबार खेलाउन पनि सिपालु थिए । नारीकोटको रिपोर्ट आएपछि हामीले त्यो स्थितिमा गम्भीरतापूर्वक छलफल गर्‍यौँ र आफ्नो रणनीति ठेगान गर्‍यौँ ।

    नारीकोट गाउँ दुई भागमा बाँडिएको थियो : उपल्लो नारीकोट र तल्लो नारीकोट । जुन किसानले शिविरमा उजुरी गर्न आएका थिए, उनीहरू तल्लो नारीकोटका थिए र उनीहरूका उजुरी पनि तल्लो नारीकोटका साहुमुखियाका विरुद्ध नै थिए । तल्लो नारीकोटका साहुमुखियाको उपल्लो नारीकोटका मुखिया र त्यहाँका जनतासित अन्तरविरोध थियो । त्यसकारण तल्लो गाउँका साहुमुखियासित हाम्रो सङ्घर्षको अवस्थामा उपल्लो गाउँ र तल्लो गाउँका साहुमुखियालाई कुनै मदत नपुग्ने कुरा स्पष्ट थियो । तल्लो नारीकोटको वल्लो पाखामा धरमपानी गाउँ पर्दथ्यो । त्यो खगुलाल गुरुङको गाउँ थियो । त्यो गाउँको तल्लो नारीकोटका साहुमुखियासित तीव्र अन्तरसङ्घर्ष चल्दै आएको थियो । त्यो गाउँका थुप्रै साथीहरू लडाकु र जुझारु स्वभावका थिए । लिले र काले कामी पनि त्यही गाउँका थिए । त्यसैले त्यो गाउँबाट नारीकोटको किसान आन्दोलनमा पूरै मदत पुग्ने कुरा निश्चित थियो । नारीकोटको पारिपट्टि रजबारा र पूजा गाउँ पर्दथ्यो । ती गाउँबाट नारीकोटका साहुमुखियालाई कुनै मदत मिल्ने सम्भावना थिएन । टिमुरचौर, तुषारा, बादिकोट, ओखरकोट, बाङ्गे, चुँजाबाङ आदि गाउँमा हाम्रो राम्रो आधार थियो । चारैतिरको त्यो स्थितिबारे हामीले गम्भीरतापूर्वक मूल्याङ्कन गर्‍यौँ र हामी त्यो निष्कर्षमा पुग्यौँ कि नारीकोटका साहुमुखियासितको प्रत्यक्ष भिडन्तको अवस्थामा नारीकोटका साहुमुखियालई खुङका ठकुरीबाहेक अन्त कतैबाट कुनै मदत मिल्ने सम्भावना थिएन ।

    शिविरबाट आएका साथीहरू पनि ३ दिनसम्म सैद्धान्तिक र शारीरिक प्रशिक्षण लिएका हुनुहुन्थ्यो । उहाँहरू सबैमा उच्च प्रकारको मनोबल थियो । हाम्रो प्रयत्न भरसक भिडन्तलाई रोक्नेतिर नै हुन्थ्यो तैपनि आवश्यक परे कतैबाट आक्रमण भएमा यसको सामना गर्न हामी पूरा तयार थियौँ ।

    हामीले नारीकोटमा जानका लागि आवश्यक पूरा तयारी गर्‍यौँ । सर्वप्रथम मेरो नेतृत्वमा पार्टीको एउटा न्युक्लियस गठन गर्‍यौँ, जसमा खगुलाल गुरुङ, श्यामलाल थापा, रुमबहादुर पाण्डे, जगतबहादुर जिसी, सिद्धिमान जिसीसमेत हुनुहुन्थ्यो । श्यामलालको नेतृत्वमा एउटा व्यवस्थापक समिति, खगुलालको नेतृत्वमा लडाकु दल गठन भयो । त्यसअन्तर्गत शिविरका साथीहरू कैयौँ लडाकु दलमा विभाजित हुनुभएको थियो ।

    फागुन २४ को नाटक र फिल्ममा कैयौँ महिला पात्रको पनि उल्लेख गरिएको छ । त्यो बेला शिविरको टोलीमा एक जना पनि महिला थिएनन् । त्यसैले नाटक र फिल्ममा उल्लेख गरिएका सबै महिला पात्र काल्पनिक नै हुन् । नाटक र फिल्ममा उल्लेख गरिएका हर्के र उजेली पनि काल्पनिक पात्र नै हुन् ।

    नारीकोटका साहुमुखियाले हामीलाई गाउँमा पस्न नदिन ठाउँ ठाउँमा ढुङ्गामुढा राखेर मान्छे तैनाथ गरेका थिए । उनीहरूले तल्लो गाउँमा पस्ने मूल बाटामा नै ढुङ्गामुढा राख्ने काम गरेका थिए तर उपल्लो नारीकोटमा जाने बाटोमा उनीहरूले त्यस्तो कुनै छेकबार गरेका थिएनन् । त्यसैले रातको समयमा हामी उपल्लो नारीकोटको बाटो भएर गाउँमा पस्यौँ र तल्लो नारिकोटको ढाटीमा गएर अड्डा जमायौँ । त्यसपछि एक हप्ताको समय पूरै दोहोरो द्वन्द्व र तनावको समय रह्यो ।

    शिविरलाई गाउँमा पस्न नदिने साहुमुखियाको प्रयत्न असफल भएको थियो । त्यसपछि उनीहरूले आफ्नो मदतको लागि खुङका ठकुरीलाई बोलाए । उनीहरू बाँसका ठुला ठुला लौरा र खुकुरी भिरेर आएका थिए ।

    दिउसो सभा हुन्थे । हामीले किसानका माग राख्दथ्यौँ । साहुमुखियाले किसानमाथि कुनै अन्याय, अत्याचार गरेको कुरालाई ठाडै अस्वीकार गर्दथे । साहुमुखियाको पक्ष लिएर खुङका ठकुरीहरू कुर्लन्थे र बिच बिचमा खुकुरी निकाल्न खोज्दथे । उनीहरूको त्यस प्रकारको व्यवहार देखेपछि हाम्रा साथीहरू पनि लाठी समातेर लड्न तयार हुन्थे । साहु र खुङका ठकुरीको त्यस प्रकारको व्यवहारबाट आतङ्कित भएर किसानहरू साहुमुखिया विरुद्ध बोल्न डराउँथे ।

    दुईतीन दिनपछि स्थितिमा परिवर्तन हुँदै गयो । शिविरले तीनचार जनाको टोली बनाएर प्रत्येक दिन बिहान किसानको बिचमा प्रचार कार्य गर्न थाल्यो । अब धरमपानी र उपल्लो नारीकोटका पनि धेरै किसानहरू सभामा आउन थाले । आफूमाथि हुने गरेका अन्याय, अत्याचारबारे किसानले खुलेर कुरा गर्न थाले त्यो क्रममा हामीले किसानका बिचमा पनि सङ्गठनको काम बढाउँदै गयौँ ।

    राति शिविरको पार्टी न्युक्लियस र अन्य विभागका बैठक हुन्थे । हामीले दिनभरिको आफ्नो कामको मूल्याङ्कन गर्दथ्यौँ । अर्को दिनका लागि योजना पनि तयार पार्दथ्यौँ । रातमा हामी बसेको ठाउँमा दुईपटक आक्रमण गर्ने प्रयत्न गरियो । उनीहरूले हामीलाई सबै सुतेका हुन्छौँ भन्ने सोचेर आक्रमण गर्न आएका हुन्थे होला तर राति पनि शिविरमा कडा पहराको व्यवस्था हुन्थ्यो । मानिसहरू हामीमाथि आक्रमण गर्न आएको थाहा पाउनेबित्तिकै तुरुन्त सिठी बज्दथ्यो । सबै जना लड्नका लागि तयार हुन्थे । त्यो देखेपछि आक्रमण गर्न आएका मान्छेहरू भागेर जान्थे ।

    करिब १८ दिनसम्म सभा हुँदा पनि तल्लो नारीकोटका साहुमुखियाले किसानका एउटा पनि माग पूरा गर्ने सम्भावना देखा परेन । त्यो अवस्थामा शिविर त्यसै फर्केर जाँदा साहुमुखियाको झन् हौसला बढ्ने र किसानमाथि झन् अन्याय, अत्याचार बढ्ने सम्भावना थियो । त्यो अवस्थामाथि विचार गरेर पार्टी न्युक्लियसले एउटा नयाँ रणनीति बनायो ।

    हामीले किसानका माग पूरा नभए पनि शिविर फर्केर जाने कुरा गर्‍यौँ । योजनाअनुसार हामीले साहुमुखियालाई पक्रेर लैजाने र मच्छीमा गएर उनीहरूलाई माग पूरा गर्न दबाब दिने सल्लाह गर्‍यौँ । खुङका ठकुरीहरू त्यहाँ हुँदासम्म साहुमुखियालाई पक्रेर लैजान मुस्किल पर्दथ्यो । यसो गरेमा प्रत्यक्ष भिडन्त हुने र कैयौँ जनाको ज्यानसमेत जाने सम्भावना पनि हुन सक्दथ्यो । त्यसैले हामीले कुनै तरिकाले खुँगका ठकुरीलाई यहाँबाट हटाउन कुनै उपाय गर्ने सल्लाह गर्‍यौँ ।

    गाउँको फेदीमा एउटा खेतबारे किसान र साहुमुखियाको एउटा विवाद थियो । हामी दुवै पक्षले त्यो खेत हेर्न जाने सल्लाह गर्‍यौँ । शिविरका सबै साथी, साहुमुखिया र खुङका ठकुरीसमेत त्यो खेतमा झर्‍यौँ । त्यो खेतबाट खुङको गाउँ नजिकै पर्दथ्यो । हामीले साहुमुखियाको कुरा सुनेपछि त्यो विवाद नउठाउने र अर्को दिन बिहानै शिविर फर्केर जाने सल्लाह गर्‍यौँ । त्यसपछि खुङका ठकुरीहरू त्यही खेतबाट आफ्ना गाउँतिर लागे भने हामी राती बस्ने गरेको ढाटीतिर फर्किर्यौँ ।

    हामी खुँगका ठकुरीहरूलाई फर्काउन सफल भए पनि साहुमुखियाबाट प्रतिकारको सम्भावनालाई पूरै अस्वीकार गर्न सकिँदैनथ्यो । उनीहरूलाई पक्रिँदा उनीहरूका तर्फबाट सम्भावित प्रतिकारमाथि ध्यान दिँदै हामी रातभरि आफ्नो तयारी गर्ने काममा लाग्यौँ । हामीले धरमपानीका लडाकु साथीहरूलाई लाठी लिएर तयार भएर आउन भन्यौँ । आसपासमा भएका केही बन्दुक पनि मगायौँ ।

    ओखरकोट, बाङ्गे, टिमुरचौरसमेतका किसान साथीलाई पनि दलसहित तयार भएर आउन भन्यौँ । पिताजी खिमविक्रमलाई पनि आफ्ना केही मान्छेसहित बन्दुक र पिस्तोलसमेत ल्याएर आउन भन्यौँ । यी सबै मानिस ढाटीमा नदेखिने गरेर लुकेर बस्ने सल्लाह भयो ।

    अर्को दिन भेला हुनका लागि हामीले साहुमुखियालाई बोलायौँ । हामीले पुन: किसानका सबै माग राख्यौँ । उनीहरूले मान्ने कुरा थिएन र मानेनन् पनि । हामीलाई त्यो कुरा थाहा पनि थियो ।

    छलफल गर्दागर्दै बेलुका हुन थाल्यो, तबसम्म हाम्रा सबै साथीहरू आइपुगेको समाचार थाहा भयो । साहुहरूले हाम्रा माग नमानेपछि हामीले उनीहरूलाई पक्रेर लैजाने कुरा गर्‍यौँ । उनीहरूले हाम्रो प्रतिकार गर्न खोजेपछि खगुलालले सिठी बजाउनुभयो । उहाँको सिठी बज्नेबित्तिकै आपसमा लुकेर बसेर हाम्रा सबै साथी र पिताजी खिमविक्रमसमेत हातहतियारसहित आउनुभयो । हाम्रो घेराबाट साहुमुखियाका एक जना मान्छे उम्किए, बाँकीलाई हामीले नाराजुलुससहित त्यहाँबाट हिडायौँ ।

    हामीले साहुमुखियालाई पक्रेर हिँडाल्नेबित्तिकै साहुमुखियाका मान्छेले नगरा (बाजा) बजाउन थाले । हामीलाई यो बुझ्न बेर लागेन कि त्यो बाजा बजाएर खुङका ठकुरीलाई बोलाउनका लागि सङ्केत गरिएको थियो । (क्रमश:)

    बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.