काठमाडौं । रसियाले काठमाडौंमा मेट्रो रेल बनाउने प्रस्ताव गरेको छ । सोमबार नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिको नेतृत्वको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग भेट गरी सो प्रस्ताव राखेको हो ।
राजदूत नोमिकोसहितको टोलीसँग मन्त्री ज्वालाले मेट्रो रेल, सडक, सुरुङ मार्ग र रेलका बिषयमा छलफल गरे ।
रसियन मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ। रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन्। भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ।
मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेलका विषयमा छलफल गरेका हुन्।
मन्त्रालयका सहसचिव अर्जुन थापाका अनुसार केही समयमै रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदैछन्।
उनको भ्रमणअघि मेट्रो पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रसियन टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको थियो।
रसियन पक्षले पोखरा–रिडी सडकका बिषयमा पनि चासो देखाएका छन्।