विष्णु शर्मा ##
ऐलेको तिजमा बिन्ती मेरो राजै
गम्भीर भएर सुनिदिनू है ।
नयाँमा फरिया चाहिँदैन राजै
यो मेरो भावना बुझिदिनू है ।।
खानामा खिरै चाहिदैन राजै
भोकको ज्वाला मारिदिनू है ।
चेतनाको किरण फैलाउन खोज्दा
स्वतन्त्र मलाई छाडिदिनू है ।।
कानैमा झुम्का चाहिँदैन राजै
मिठा मुखले हाँसेर बोलिदिनू है ।
नारी बन्धक बनाउने चारदिबारीलाई
सदाको लागि खोलिदिनू है ।।
सत्यको पक्षमा म उभिँदा राजै
सहमतिको आवाज बोलिदिनू है ।
मलाई पछि तान्ने संस्कारको रसीलाई
हजुरकै हातले खोलिदिनू है ।।
छोरी भनी लत्रिने माइतीलाई राजै
छोराछोरी बराबर हुन भनिदिनू है ।
छोरा भनी गम्कने समाजलाई राजै
छोरीका उदाहरण गनिदिनू है ।।
मेकअप किट चाहिँदैन राजै
पहिचान मेरो हुन दिनू है ।
राम्रो काममा बढ्दा प्रोत्साहन दिएर
पवित्र गन्तव्य छुन दिनू है ।।
गलैमा सिक्री चाहिँदैन राजै
दासताका बन्धन तोडिदिनू है ।
सुनैको हार चाहिदैन राजै
मेरो मुक्त कण्ठ खोलिदिनू है ।।
कुनै बेला दोधारमा पर्दा
सही मार्गदर्शन गरिदिनू है ।
नारी विरुद्ध बनाएको कुसंस्कार
फालेर नयाँ दर्शन भरिदिनू है ।।
उत्पीडितलाई सङ्गठित गर्न
मनैपाइ अगाडि सरिदिनू है ।
यो समाजमा नमुना बनेर
समानताको शङ्खघोष गरिदिनू है ।।