काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमवार (भोलि) देखि शुरु हुने भएको छ।
आइतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइका लागि सोमवार बिहान साढे ११ बजे बोलाउने निर्णय गरेको हो।
सोमवार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाई गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिए। प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध ३ वटा उजुरी परेका छन्।
समितिका ज्येष्ठ सदस्य राणाले उजुरीकर्ताको उजुरीमाथि छलफल गरेलगत्तै प्रस्तावित प्रधानन्यायाधीशको पनि संसदीय सुनुवाई गर्ने समिति सचिवालयको कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताए।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।
संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।