जुना भण्डारी चालिसे ##
महिला मुत्तिी आन्दोलनको बिगुल फुक्ने चाहना ।
प्रगतिशील गीत गाऊँ है शुभकामना ।।
अघि बढ्न पाएका छैनौँ दमनको भारीले ।
सम्मानसँग बाच्न पाउनुपर्यो नारीले ।।
सम्पत्तिमा समान हक छोरासरह चाहिन्छ ।
हरेक ठाउँमा योगदान हाम्रो केमा कमी छ ।।
हामी पनि बन्नुपर्छ सङ्गठित र सचेत ।
आफ्नो हक खोसी ल्याउन बनौँ सचेत ।।
दाइजोसँग तौलिएर बिदा लिनुपर्ने ।
त्यही दाइजो कम हुनाले चेली मर्ने ।।
दाइजो प्रथा हटाउन चलेको छ अभियान ।
फेरि पनि गुमाउनुपरेको छ ज्यान ।।
भाषणमा मात्र भयो अधिकार बराबर ।
कैयौँ घरमा शोषण दमन भा’छ सरासर ।।
परिवर्तन चाहेका छौँ समाजमा नारीले ।
छाउपडी बन्द गरौँ भन्छौँ हामीले ।।
शरीर कमजोर भा’को बेला छाउपडी गोठमा ।
हाँसो पनी हराउँछ कि उनको ओठमा ।।
मेरा लागि मात्रै हैन हक चाहियो भनेको ।
हरेक रीतिरिवाज नारी तिमीलाई बनेको ।।
छोरा जन्म नदिए नारीलाई नै आउँछ दोष।
नारी कमजोर छैनन् भन्ने कहिले आउँला होस ।।
पुरुषले नारी बुझौँ नारीले पुरुष ।
हातेमालो गरी सोच फेरौँ अब त।।
सही गलत छुट्याएर लेख्ने सानो कलम।
सङ्गठनमा सङ्गठित होऊ लालसलाम ।।