काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन नेपाल राष्ट्र बैङ्कले गालेको छ ।
२०८० साउन ३० गते मङ्गलबार राष्ट्र बैङ्क, राजस्व अनुसन्धान विभाग र सुरक्षा निकायको रोहबरमा सुन गालिएको हो ।
गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्क टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । त्यसपछि गाल्दा परिमाण केही घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो ।
साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैङ्कको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतलाई रोहबरमा राखेर मङ्गलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।
सोमबारदेखि राष्ट्र बैङ्कले सुन ब्रेकप्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो ।
असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन “रेडी ट्रेड प्रालि” ले मगाएको खुलेको थियो । १६० ओटा “ब्रेक प्याड” मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो । सुनसहितको ब्रेक प्याडको तौल १५५ किलो थियो ।
सुनतस्करीमा संलग्न आशङ्कामा हाल १७ जना हिरासतमा छन् ।