काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजीपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आगामी भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ ।
सुनतस्करीका बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते सिनामङ्गल क्षेत्रबाट बरामद गरेको थियो ।
सो प्रकरणमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको थियो तर नेकपा (एमाले) ले सरकारी अनुसन्धानमा आफूहरूलाई विश्वास नभएको भन्दै सुनतस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।
संसद् अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले यसअघि पटक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्गग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहितको बैठक राखे पनि सहमति हुन सकेको छैन ।