काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरुको संख्या बढेको छ । न्यायिक समितिमा उजुरी दिनेहरुमध्ये अधिकांश उजुरी पसलहरु बन्द गर्न, सटर खालि गरिदिन, कोठा खालि गराइदिन लगायतका उजुरी दिनेहरुको संख्या बढ्दै गएको हो ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेहरुको संख्या बढेको बताइन्। उनले पसलहरु बन्द गर्न, सटर खालि गरिदिन, कोठा खालि गराइदिन माग गर्दै उजुरीहरु पर्ने गरेको उल्लेख गरिन् ।
उनले न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा ८ वटा उजुरीहरु बन्द गराइदिन र खालि गराइ पाउँ भन्ने किसिमले पर्ने गरेको बताइन्। न्यायिक समितिमा आएका उजुरीलाई हेर्दा काठमाडौंमा यस किसिमका संकेत देखिनु राम्रो नभएको उनले बताइन् ।
डंगोलले यस्ता घटना बढ्नु भनेको अर्थतन्त्र चलायमान हुन नसक्नु रहेको बताइन् ।
उपप्रमुख डंगोलले महानगरपालिकाले बजार अनुगमन र मूल्यांकनलाई तीब्रता दिने बताइन्। उनले नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउनका लागि अनुगमन र मूल्यांकन अत्यावश्यक भएकाले बजार र योजना अनुगमनलाई प्राथमिकतामा राखेको बताइन् ।