डम्मर बुढामगर, बागलुङबजार ।
हिउँद होस् या बर्खा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल खाली नै हुँदैन । कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै लामो भनेर जिकिर गरिएको झोलुङ्गे पुलमा पछिल्लो समय दैनिक पर्यटकको आगमन बढ्दै बढ्न थालेको छ ।
पुल सञ्चालनमा आएको तीन वर्ष भयो । यो अवधिमा लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ आएको स्थानीयवासीको अनुमान छ ।
कोभिड–१९ सङ्क्रमणका बेला सञ्चालनमा आएको पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । नजिकै प्रसिद्ध बागलुङ कालिकामन्दिर, छेउमै कालीगण्डकी नदी, केहीमाथि धार्मिक पर्यटकीयस्थल पञ्चकोट र शालिग्राम सङ्ग्रहालय रहेको हुँदा पछिल्लो समय बागलुङमा धार्मिक पर्यटकको आवागमन बढेको हो ।
तीन वर्ष अगाडिसम्म यहाँ आउने पर्यटकको सङ्ख्या साह्रै न्यून थियो तर अहिले हरेक दिन बागलुङ बजारमा पर्यटकको चहलपहल बढेको छ । पहिले अधिकांश पर्यटक बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने गर्थे भने अहिले लामो झोलुङ्गे पुलले गर्दा बजार हुँदै पञ्चकोटसम्म पुर्याउने गरेको छ । पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका छन् । झोलुङ्गे पुलका कारण बागलुङसहित पर्वत र म्याग्दीमा पनि पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
अहिले लामो पुलमा बालबालिकादेखि युवायुवती र बुढापाकाको भिड हुने गरेको छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या पनि निकै ठुलो देखिन्छ । अझ बिदाको दिन सयौँले पुल अवलोकनका साथै वारपार गर्ने गरेका छन् ।
हरेक दिन जिल्लामा पर्यटकको सङ्ख्या बढ्दै गएपछि कोभिडका कारण थला परेका जिल्लाका होटल व्यवसायीलाई यति बेला भ्याइनभ्याइ छ । पर्यटकीय क्षेत्रको तीव्र प्रचार र सही व्यवस्थापन हुँदा पर्यटकको भित्रिने सङ्ख्या पनि बढ्दै गएको हो ।
पहिले यहाँ भारतीय पर्यटक निकै कम आउने गरेकामा अहिले दैनिकजसो पुल तर्नका लागि आउने गरेका छन् । भारतको चन्डिगढबाट घुम्न आउनुभएका पोकस चौधरीले यहाँको वातावरण, मन्दिर र लामो झोलुङ्गे पुल निकै रमणीय रहेको बताउनुभयो । परिवारसहित मुक्तिनाथ दर्शनका लागि आउनुभएका उहाँले बागलुङका बारेमा धेरै पटक सुनेको हुँदा यसपालि घुम्न आएको बताउनुभयो ।
पछिल्लो समय अहिलेसम्मकै धेरै पर्यटक बागलुङ आउने गरेको होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो । उहाँले लामो पुलले गर्दा बागलुङमा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाएको बताउनुभयो । पहिले कालिकामा आउने पर्यटकमध्ये १० प्रतिशत मात्रै बजारमा आउने गरेकामा अहिले ५० प्रतिशत बढी आउन थालेको अध्यक्ष चोखालको भनाइ थियो । अहिले अधिकांश पर्यटक पुल नै हेर्न र पार तर्न आउने गरेको देखिन्छ ।
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र म्याग्दीको गलेश्वरको प्रवेशद्वारमै लामो पुल हुँदा दैनिक एक हजार बढी पर्यटक यहाँ घुम्न आउने अध्यक्ष चोखालको भनाइ थियो । पुल हेर्न आएकामध्ये डेढ सय बढी पर्यटक बागलुङका होटलमा बास बस्ने गरेका छन् । अहिले राति घुम्न आउने पर्यटकलाई लक्षित गरी विद्युतीय बत्तीसमेत जडान गरिएको छ ।
सिङ्गल स्पानमा संसारकै लामो भनिएको यो पुल पाँच सय ६७ मिटर लामो छ । वि.सं. २०७७ देखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङसँग जोडिएको छ । पुल करिब रु नौ करोड २५ लाखमा सम्पन्न भएको थियो ।
पुल आसपासमा अहिले व्यावसायिक प्रयोजनका लागि पूर्वाधार निर्माण भइरहेका छन् । (रासस)





