काठमाडौँ । स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसङ्ख्या पुग्नुमा आप्रवासीको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मंगलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो ।
त्रैमासिक निरन्तर जनसङ्ख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा चार करोड ८३ लाख ४५ हजार २२३ जना मानिस बसोबास गरिरहेको देखाएको छ, जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै हो ।
२०२३ को दोस्रो त्रैमासिकमा १३ लाख पाँच हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसङ्ख्यामध्ये एक लाख ३९४ जना स्पेनबाहिर जन्मिएका थिए । अब विदेशी भूमिमा जन्मिएका बासिन्दाको कुल सङ्ख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।
स्पेनका राष्ट्रिय तथ्याङ्क संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भने– ‘यो वृद्धि जन्मको कारणले भएको होइन किनभने जन्म र मृत्युबिचको भिन्नता व्यावहारिक रूपमा शून्य भएको छ तर मूलत: आप्रवासन बढेको छ ।’
अप्रिल र जुनको बिचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोरक्कोका थिए । विदेशमा बसोवास गरेर आफ्नो मातृभूमिमा फर्केका स्पेनीहरूको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ ।
गालानले भने– ‘स्पेनमा जनसङ्ख्या भविष्यमा अलिकति घट्न सक्छ । जनसङ्ख्या घट्न नदिने सुनिश्चित गर्न आप्रवासीको धेरै ठुलो प्रवाह आवश्यक छ ।’