पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या एकाएक बढेको छ ।
पोखरास्थित हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो ।
विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको अस्पतालका स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिनुभयो ।
‘अस्पतालमा आँखाका बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ‘ उहाँले भन्नुभयो– ‘दैनिक झन्डै एक सय जनामा आँखा पाक्ने रोग देखिएको छ ।’
आँखा रातो हुने, आँशु आउने, बिजाउने, चिप्रा लाग्नेलगायत समस्या देखिएको छ । आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ । आँखा परीक्षण गरेर चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्न डा श्रेष्ठले सुझाव दिनुभयो ।
‘रोगको सङ्क्रमण देखिए जथाभावी औषधिको प्रयोग र आँखा मिच्न हुँदैन’ उहाँले भन्नुभयो ।
आँखा पाक्दैमा आत्तिनु नहुने र एक हप्तामा सन्चो हुने डा श्रेष्ठ बताउनुहुन्छ । सङ्क्रमण भएका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, मोबाइल, चस्मा, औषधिलगायत सामग्री साटासाट गर्दा रोग तीव्ररुपमा पैmलिने उहाँको भनाइ छ । राम्रोसँग साबुन पानीले हात धुन उहाँले सुझाव दिनुभयो ।