खार्तुम । सुडानमा एक करोड ४० हजार बालबालिकालाई मानवीय सहयोगको “गम्भीर आवश्यकता” रहेको संयुक्त राष्ट्र सङ्घ बाल एजेन्सीले शुक्रबार उल्लेख गरेको छ ।
जारी द्वन्द्वले भोकमरीको सङ्कटलाई थप गहिरो बनाएको पनि सिएनएनले जनाएको छ । सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित भएका छन् ।
यो सङ्ख्या पछिल्लो सङ्कट अघि सुडानमा विस्थापित भएका १९ लाख बालबालिकाको अतिरिक्त सङ्ख्या हो ।
पाँच वर्षमुनिका ३० लाख बालबालिका कुपोषित छन् भने सात लाख गम्भीर कुपोषण र मृत्युको जोखिममा छन् । एक वर्षमुनिका १७ लाख बालबालिका महत्त्वपूर्ण खोरूबाट वञ्चित छन् ।
अप्रिलको मध्यमा सुडानमा द्वन्द्व सुरु भएदेखि युनिसेफका अनुसार कम्तिमा चार सय ३५ बालबालिका मारिएका छन् र दुई हजार २५ भन्दा बढी घाइते भएको पनि सीएनएनले रिपोर्ट गरेको छ।
सुडानमा दुई करोड भन्दा बढी मानिसले गम्भीर भोकमरीको सामना गरिरहेका छन्, जुन सङ्ख्या गत वर्षको तुलनामा झन्डै दोब्बर भएको पनि संयुक्त राष्ट्र सङ्घले बिहीबार चेतावनी दिएको छ।
अप्रिल १५ मा सेना र र्र्यापिड सपोर्ट फोर्सबिच युद्ध सुरु भएको थियो । यस द्वन्द्वले गर्दा सुरक्षाको खोजीमा छिमेकी देशमा गएका आठ लाख ४४ हजारसहित करिब ३५ लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् । (रासस/एएनआई)





