बागलुङबजार । अविरल वर्षाका कारण अवरुद्ध भएको सालझन्डी–ढोरपाटन सडक २३ घण्टापछि सञ्चालनमा आएको छ ।
२०८० साउन १८ गते बिहीबार दिउँसोदेखि अवरुद्ध भएको उक्त सडक २३ घण्टापछि शुक्रबार सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो ।
राष्ट्रिय प्राथमिकताको आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडक खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमानामा पर्ने दोगाडी पुलमा माथिबाट पहिरा खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध बनेपछि ढोरपाटन, बोबाङ, फल्लेघरलगाएका ठाउँबाट बुर्तिबाङ, पोखरा काठमाडौँ, बुटवल जाने सवारी साधन अलपत्र परेका थिए ।
सडक सञ्चालनमा आएसँगै बाटोमा रोकिएका सबै सवारी साधन गन्तव्यतिर लागेका उपप्रमुख कायतले बताउनुभयो । बिहीबार नै सडक खुलाउने प्रयास गरे पनि अविरल वर्षासँगै आएको ठुलो पहिराका कारण खुलाउन नसकिएको उहाँको भनाइ थियो ।
शुक्रबार बिहानैदेखि डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भन्दै दिउँसोदेखि नियमित सञ्चालन भइरहेको उपप्रमुख कायतले जानकारी दिनुभयो ।
‘हिजो वर्षाले गर्दा खुलाउन सकिएन । पहिरो पनि निकै ठुलो खसेको थियो । आज पनि बिहानैदेखि डोजर लगाएर काम गर्यौँ, अहिले सडक खुलेको छ’ उहाँले भन्नुभयो– ‘अहिले बाटो खुलेर यातायताका साधन सञ्चालन भइरहेका छन् ।’ (रासस)