स्याङजाबजार । स्याङ्जाका सबै स्थानीय तहको खानेपानीमा ‘कोलिफर्म’ भेटिएको छ ।
जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलिफर्म’ अध्यधिक मात्रामा भेटिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धारा शर्माका अनुसार जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो ।
परीक्षण गरिएकामध्ये ४१ ओटामा ‘कोलिफर्म’ भेटिएको हो । कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा आठ आठ, बिरुवा र गल्याङमा छ छ, अर्जुनचौपारीमा पाँच, फेदीखोला र हरिनासमा चार चार खानेपानीका नमूना सङ्कलन गरी परीक्षण गरेको थियो ।
‘मुहान, ट्याङ्की, धारा र घरबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा हुने कोलिफर्मको कीटाणु अत्यधिक मात्रा पाइएको छ’ प्रमुख शर्माले भन्नुभयो– ‘सार्वजनिक, व्ययितगत र संस्थागत धाराबाट समेत पानीका नमुना परीक्षण गरिएका थिए ।’
सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव छ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलिफर्म भेटिएको छ ।
चापाकोट नगरपालिकामा ६२ दशमलव छ, फेदीखोला र हरिनास गाउँपालिकामा ५० दशमलवग ५०, भिरकोट नगरपालिकामा ४६ दशमलव एक, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलिफर्म भेटिएको प्रमुख शर्माले बताउनुभयो ।
त्यस्तै, गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७ दशमलव पाँच प्रतिशत कोलिफर्मका किटाणु भेटिएका थिए ।
गत वर्षभन्दा सुधार
प्रमुख शर्माले गत वर्षको तुलनामा यस वर्ष पानीको शुद्धतामा केही प्रतिशत वृद्धि भएको बताउनुभयो ।
उहाँले पानीको शुद्धता बढे पनि अत्यधिक कोलिफर्म भेटिनु सुखद नतिजा नभएको उल्लेख गर्नुभयो ।
गत आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ नमुना परीक्षण गरिएकोमा ५२ प्रतिशत कोलिफर्म भेटिएको थियो ।
कोलिफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइड जस्ता सरुवा रोग लाग्नुका साथै मृगौलालाई पनि असर गर्छ । (रासस)